
एजेन्सी । अफ्रिकी मुलुक बेनिनमा सेनाले आइतबार कू गरेको छ ।
बर्दीमा रहेका सैनिकहरू सरकारी टीभीमा देखापरेर सरकार भंग गरेको घोषणा गरेका छन् ।
पेट्रिस ट्यालोनलाई राष्ट्रपतिबाट हटाइएको उनीहरूले बताए । लेफ्टिनेन्ट कर्नेल पास्कल टिग्रीले आफूलाई अन्तरिम सरकार मिलिटरी कमिटी फर रिफाउन्डेशनको प्रमुख घोषणा गरेका छन् ।
सैनिकहरूले कानून व्यवस्था कायम गर्नका लागि सत्ता हातमा लिएको बताए ।
राष्ट्रपति ट्यालोन सन् २०१६ देखि सत्तामा छन् । उनी अर्को वर्षको अप्रिलमा हुने राष्ट्रपति निर्वाचनपछि सत्ताबाट हट्ने थिए ।
ट्यालनको पार्टीका नेता पूर्व अर्थमन्त्री रोमुआल्द वादगानीले चुनाव जित्ने आकलन गरिएको थियो । विपक्षी दलका उम्मेदवार रिनो आग्बोद्जोलाई पर्याप्त प्रायोजक नभएको भन्दै निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।
अघिल्लो महिना बेनिनको संसद्ले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पुर्याएको थियो । दुई कार्यकाल मात्र चलाउन पाइने व्यवस्था गरिएको थियो ।
पश्चिम अफ्रिकामा हालैका वर्षमा धमाधम सैन्य कूहरू भइरहेका छन् । गत साता गिनी–बिस्साउमा सेनाले राष्ट्रपति उमारो एम्बालोलाई हटाएर शास चलाउन थालेको छ । एम्बालो र विपक्षी उम्मेदवार दुवैले आफू विजेता भएको घोषणा गरेपछि सेनाले कू गरेको हो ।







प्रतिक्रिया