
मुस्ताङ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ ।
दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताए ।
वडाध्यक्ष गुरुङले भने, ‘धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।’
घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताए । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताए ।
यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गरे ।
गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाइ छ ।
यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिए ।
लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताए ।
‘माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन’, पर्यटन व्यवसायी गुरुङले भने, ‘स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।’
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिए ।







प्रतिक्रिया