
जनकपुरधाम । बजेट रोकिँदा मधेश प्रदेश सरकारको ‘हाम्रो प्रदेश उज्यालो प्रदेश’ कार्यक्रम प्रभावित भएको छ ।
मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सो कार्यक्रमका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएकाले काम ठप्प भएको हो ।
मन्त्रालयका सूचना अधिकारी पुरुषोत्तम चौधरीले जेनजी आन्दोलनपछि संघीय तथा प्रदेश दुवै सरकारका अर्थ मन्त्रालयले बजेट रोक्का गरेकाले कार्यक्रम अघि बढ्न नसकेको बताए ।
प्रदेश सरकारको योजनाअनुसार मधेशका आठओटै जिल्लाका मुख्य बस्ती तथा शहर बजारमा टावर लाइट, सोलार टावर लाइट र स्ट्रीट लाइट जडान गर्ने कार्यक्रम छन् । विद्युत् उपलब्ध भएका स्थानमा विद्युत्मा आधारित टावर लाइट, विद्युत् नपुगेका स्थानमा सोलार टावर लाइट र गाउका सडकमा स्ट्रीट लाइट जडान गर्ने योजना छन् ।
चौधरीका अनुसार दलित बस्ती, चौक–चौराहा, मन्दिर, मस्जिद, विद्यालय तथा मदरसाजस्ता सार्वजनिक स्थानहरूमा टावर लाइट जडानको योजना अघि बढाइनेछ ।
गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले टावर लाइट जडानका लागि १ करोड खर्च गरेको थियो । सो अवधिमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा ५१ ओटा टावर लाइट जडान गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रम २०७९/८० देखि सञ्चालित रहेको र बोलपत्र प्रक्रियामार्फत ठेकेदारद्वारा काम हुँदै आएको चौधरीले जानकारी दिए । लाइट जडानपछि एक वर्षसम्म सम्पूर्ण मर्मतसम्भारको जिम्मेवारी ठेकेदारको रहने सम्झौता गरिएको उनले बताए ।
जनकपुरधाम–२५ स्थित लोहनामा रहेको टावर लाइट करीब २ वर्षदेखि बिग्रिएको स्थानीय मो एहसानुल हकले गुनासो गरे ।
सूचना अधिकारी चौधरीले भने, ‘जडानपछि कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरिएको हुनाले, सम्बन्धित पालिका वा वडा कार्यालयले लिखित रूपमा मन्त्रालयलाई जानकारी गराए मर्मतका लागि बजेट उपलब्ध गराउन सकिन्छ ।’









प्रतिक्रिया