भेनेजुएलाको तेलमा किन आँखा लगाइरहेको छ अमेरिका?

133
Shares

एजेन्सी । अमेरिकाले भेनेजुएलासँग युद्धका लागि तयारी गरिरहेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले देशको विशाल तेल भण्डारमा नियन्त्रण गर्नका लागि अमेरिकाले आक्रमण गर्न खोजेको बताएका छन् ।

तेलले ठूलो भूमिका खेलेको वा यही कारणले गर्दा अमेरिकाले करिब एक दर्जनभन्दा धेरै युद्धपोत र १५ हजार सैनिकहरू उक्त क्षेत्रमा पठाएको भन्ने दाबीलाई अमेरिकाको विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निकट भविष्यमा स्थलगत आक्रमणहरू हुनसक्ने चेतावनी दिएको वा विमानहरूलाई भेनेजुएलाको हवाई क्षेत्रतर्फ नजान भनेको पनि तेलका कारणले हैन भनी अमेरिकाको विदेश मन्त्रालय तर्क गर्छ । त्यसको साटो अवैध आप्रवासी र भेनेजुएलाबाट आउने अवैध लागूऔषध प्रवाह रोक्नका लागि अमेरिकाको प्रयासस्वरूप यी सैन्य धम्कीहरू आएको ट्रम्प प्रशासनको भनाइ छ ।

क्यारिबियाली क्षेत्रमा तीव्र रूपमा बिग्रिँदै गएको अवस्थाको कारण जे भए पनि भेनेजुएलामा शासन परिवर्तन हुन लागेको हो भने संसारकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारले देशको भविष्यमा केन्द्रीय भूमिका खेल्ने पक्का छ ।

धेरै मानिसले ठूलो तेल भण्डार पश्चिम एसिया वा टेक्ससमा रहेको ठान्ने गरेका छन् तर भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारल कच्चा तेल छ । त्यो विश्वमा भएको सबै तेल भण्डारको पाँचौं हिस्सा जति भएको अमेरिकाको ऊर्जा सूचना प्रशासन (ईआईए) ले जानकारी दिएको छ । पृथ्वीमा सबैभन्दा ठूलो कच्चा तेलको भण्डार भेनेजुएलामा छ ।

भेनेजुएलाको सम्भावना यसको वास्तविक उत्पादनभन्दा धेरै माथि छ । उसले दैनिक करिब १० लाख ब्यारल तेल उत्पादन गर्छ । त्यो ठूलै मात्रा हो तर विश्वको कुल उत्पादनको ०.८ प्रतिशत मात्र हो । मदुरो सन् २०१३ मा सत्तामा आएपछि यो उत्पादन आधाभन्दा कम भएको छ र सन् १९९९ मा समाजवादी शासन सुरु हुनुअघिको ३५ लाख ब्यारल उत्पादनको तेस्रो हिस्साभन्दा पनि कम हो ।

भेनेजुएलाको तेल उद्योग पतन हुनुमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, गहिरो आर्थिक संकट, लगानीको कमी र नियमित मर्मत अभाव सबैले भूमिका खेलेको ईआईएको भनाइ छ । देशको ऊर्जा पूर्वाधार बिग्रँदै गएको छ र तेल उत्पादन क्षमता वर्षौंदेखि धेरै कमजोर भएको छ ।

यो विशेष समस्या हो किनकि भेनेजुएलासँग रहेको तेल भारी र अमिलो खालको छ । यसलाई उत्पादन गर्नका लागि विशेष उपकरण र उच्च प्रविधि आवश्यक पर्छ । अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँग यसलाई निकाल्ने क्षमता छ तर उनीहरूलाई देशमा कारोबार गर्न रोकिएको छ ।

अमेरिका सरकारले सन् २००५ देखि भेनेजुएलामाथि प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०१९ मा ट्रम्प प्रशासनले सरकारी तेल कम्पनी पीडीभीएसएको अमेरिकातर्फ हुने सबै कच्चा तेल निर्यातलाई रोकिदियो ।

त्यसपछि सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडनले ग्यासको मूल्य कम गर्न शेभ्रोनलाई भेनेजुएलामा काम गर्ने अनुमति दिए । त्यसलाई ट्रम्पले गत मार्च महिनामा खारेज गरे । पछि उनले त्यसलाई पुनः अनुमति दिए । तर, यसबाट उठ्ने कुनै रकम मदुरो सरकारलाई नजाने शर्त उनले राखे ।
अमेरिका इतिहासमै सबैभन्दा धेरै तेल उत्पादन गर्ने देश हो । तैपनि उसले तेल आयात गर्नुपर्छ, विशेषगरी भेनेजुएलाले उत्पादन गर्ने भारी तेल ।

अमेरिकाले हलुका र मीठो किसिमको कच्चा तेल उत्पादन गर्छ । त्यो पेट्रोल बनाउन त राम्रो हुन्छ तर अन्य धेरै प्रकारका पेट्रोलियम पदार्थको उत्पादनका लागि उपयुक्त छैन । भेनेजुएलाको जस्तै भारी र अमिलो कच्चा तेल भने डिजेल, अलकत्रा, कारखाना र भारी उपकरणको इन्धन बनाउन आवश्यक हुन्छ । विश्वभर डिजेलको ठूलो कमी छ र यसको प्रमुख कारण भेनेजुएलामाथिको प्रतिबन्ध हो ।

ईआईएका अनुसार, अमेरिकाले सेप्टेम्बर महिनासम्म भेनेजुएलाबाट दैनिक १ लाख २ हजार ब्यारल तेल आयात गर्दै आएको छ । भेनेजुएला अमेरिकाको १०औं ठूलो आपूर्तिकर्ता हो । तर, यो साउदी अरबबाट आउने २ लाख ५४ हजार ब्यारल र क्यानडाबाट आउने ४१ लाख ब्यारलको तुलनामा निकै कम हो ।

दशकौंसम्म अमेरिका अहिलेको तुलनामा बढी नै भेनेजुएलाको तेलमा निर्भर थियो ।

भेनेजुएलाको तेल सस्तो र ल्याउनका लागि नजिक छ । तेल बाक्लो र प्रशोधन महँगो हुने भएकाले यसको मूल्य कम पर्छ । अधिकांश अमेरिकी रिफाइनरीहरू भेनेजुएलाको भारी तेल प्रशोधन गर्नकै लागि बनाइएका हुन् र अमेरिकी तेलको तुलनामा भेनेजुएलाको तेल प्रयोग गर्दा ती रिफाइनरीहरू अझ प्रभावकारी हुने प्राइस फ्युचर्स ग्रुपका वरिष्ठ विश्लेषक फिल फ्लिन बताउँछन् ।

भेनेजुएलाको तेल विश्व बजारका लागि खुला भएमा अमेरिका र उसका सहयोगीहरूलाई फाइदा पुग्न सक्छ । त्यसले भेनेजुएलाको अर्थतन्त्रलाई पनि उकास्नेछ ।

भेनेजुएलाको रुग्ण ऊर्जा उद्योग पुनःस्थापित भएमा देश ठूलो आपूर्तिकर्ता बन्न सक्छ । यसले पश्चिमी तेल कम्पनीहरूलाई अवसर दिन सक्छ र विश्व तेल आपूर्तिमा नयाँ स्रोत थप्न सक्छ । यसले तेलको मूल्य स्थिर राख्न पनि मद्दत गर्न सक्छ, यद्यपि कम मूल्यहरूले केही अमेरिकी कम्पनीलाई उत्पादन घटाउन प्रेरित गर्न सक्छ ।

‘भेनेजुएलामा वैध सरकार आएर सबथोक व्यवस्थित रूपमा चलायो भने विश्वमा थप आपूर्ति आउँथ्यो र त्यसले मूल्य बढ्ने एवम् अभाव हुने जोखिम कम हुने थियो,’ फ्लिन भन्छन्, ‘भेनेजुएलाको तेल बजार पुनर्जीवित भए त्यो ठूलो कुरा हुनेथियो ।’

अन्तर्राष्ट्रिय पहुँच भोलि नै खुल्यो भने पनि भेनेजुएलाको तेल उद्योग पूर्ण क्षमतामा फर्कन वर्षौं लाग्छ । पीडीभीएसएले भेनेजुएलाका पाइपलाइनहरू ५० वर्षदेखि अद्यावधिक भएका छैनन् र तिनलाई पहिलेकै क्षमतामा फर्काउन ५८ अर्ब डलर लाग्छ ।

पश्चिममैत्री सरकार भेनेजुएलामा आयो भने यो ठूलो खर्च तेल कम्पनीका नाफाका लागि मात्र नभई भूराजनीतिका लागि पनि बेहोर्न योग्य मानिन सक्छ ।

उदाहरणका लागि, रुसी तेल भेनेजुएलाको तेलजस्तै भारी छ । त्यसैले नै भारत र चीन अमेरिकी प्रतिबन्धका बावजुद अझै पनि रुसी तेलमा निर्भर छन् । भेनेजुएलाको उत्पादन क्षमता बढेमा रुसी तेलको विकल्प उपलब्ध हुनेछ र यसले रुसको अर्थतन्त्र र युक्रेनविरुद्ध युद्ध गर्ने क्षमतालाई कमजोर पार्न सक्छ ।

प्रतिबन्धहरूले भेनेजुएलाको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ । पीडीभीएसए नै मदुरो सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । कम्पनीलाई पुरानै क्षमतामा फर्काउन सकियो भने भेनेजुएलालाई ठूलो फाइदा हुने फ्लिन बताउँछन् ।

‘यो साँच्चै दुःखद कथा हो र मदुरोको शासनले कसरी भेनेजुएलाका जनतालाई नोक्सान पु¥याउँछ भनी यसले देखाउँछ,’ फ्लिन भन्छन्, ‘उनीहरूले देशलाई फेरि उत्कृष्ट बनाउन सक्छन् तर त्यसका लागि मदुरोलाई हटाउनैपर्छ ।’

त्यसैले मदुरोमाथिको अमेरिकी दबाबमा तेलले भूमिका खेलिरहेको धेरैले अनुमान गरेका छन् । गत सप्ताहान्तमा मदुरोले ओपेकका महासचिवलाई पत्र लेखेर ट्रम्प प्रशासनले भेनेजुएलाको तेल कब्जा गर्न चाहेको दाबी गरे ।

‘तेल नै मुख्य विषय हो,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले सीएनएनलाई दिएको विशेष अन्तर्वार्तामा भने, ‘यो तेलको बारेमा हुने वार्ता हो । मलाई लाग्छ ट्रम्पको तर्क यही हो ।’

(सीएनएनमा प्रकाशित डेभिड गोल्डम्यानको सामग्रीको अनुवाद)

Skip This