यस्तो छ उत्तर कोरियाली नागरिकले चलाउने स्मार्टफोन: मूल्य आईफोनबराबर, शब्दशब्दमा सरकारको सेन्सर

399
Shares

काठमाडौं । विश्वबाट एक्लिएको र रहस्यको घेरामा रहेको उत्तर कोरियाभित्रको प्रविधि कस्तो होला ? त्यहाँका नागरिकले प्रयोग गर्ने स्मार्टफोनमा के–कस्ता फिचर हुन्छन् ? हालै चर्चित टेक युट्युबर ‘मिस्टरहुजदबोस’ ले उत्तर कोरियाबाट तस्करी गरिएका दुई दुर्लभ स्मार्टफोनहरू-‘हायन ७०१’ र फ्ल्यागशिप ‘सामतेसुङ ८’ को विस्तृत रिभ्यु सार्वजनिक गरेपछि त्यहाँको कहालीलाग्दो डिजिटल नियन्त्रणको पर्दाफास भएको छ ।

बाहिरी विश्वलाई अस्तित्व नै थाहा नभएका यी डिभाइसहरूले उत्तर कोरियाली सरकारले आफ्ना नागरिकलाई प्रविधिको माध्यमबाट कसरी ‘डिजिटल हतकडी’ लगाएको छ भन्ने स्पष्ट चित्र देखाएका छन् ।

‘हेयाङ ७०१’ र फ्ल्यागशिप फोन ‘सामतेसुङ ८’ को भित्री पाटो केलाउँदा देखिएको दृश्यले प्रविधिको विकास मानिसको सुविधाका लागि मात्र होइन, दमनका लागि पनि प्रयोग हुन सक्छ भन्ने डरलाग्दो उदाहरण पेश गरेको छ ।

दुई फोनमध्ये ‘सामतेसुङ ८’ उत्तर कोरियाको सबैभन्दा आधुनिक, महँगो र ‘फ्ल्यागशिप’ श्रेणीको फोन हो । यसको नामकरण नै एक प्रकारको राजनीतिक होडबाजीबाट प्रेरित देखिन्छ । दक्षिण कोरियाको विश्वप्रख्यात कम्पनी ‘सामसङ’ को कोरियन अर्थ “तीन तारा” हुन्छ । तर उत्तर कोरियाले आफ्नो फोनको नाम ‘सामतेसुङ’ राखेको छ, जसको अर्थ हुन्छ, “तीन विशाल तारा” । नामबाटै उत्तर कोरियाली सरकारले आफ्ना जनतालाई “हामी दक्षिण कोरियाभन्दा ठूलो, भव्य र शक्तिशाली छौं” भन्ने मनोवैज्ञानिक सन्देश दिन खोजेको प्रस्ट हुन्छ ।

बजार मूल्यको कुरा गर्दा यो फोनको मूल्य करिब १००० अमेरिकी डलर (नेपाली करिब १ लाख ३५ हजार रुपैयाँ) पर्छ । जुन एउटा नयाँ आईफोन वा सामसङको फ्ल्यागशिप फोन बराबर हो ।

तर, यसको हार्डवेयर र बनावट हेर्दा यो सन् २०२३ को नभई सन् २०२१ तिरको चिनियाँ फोन ‘ह्वावे’ सँग दुरुस्तै मिल्छ । युट्युबर मिस्टरहुजदबोसका अनुसार, यसको क्यामेरा मोड्युलको गोलाइ, स्क्रिनको कर्भ, बटनहरूको स्थान र रङ्ग संयोजन हुवावेको ‘नोभा ९’ वा ‘मेट ३०’ सिरिजसँग हुबहु मिल्छ ।

यसले दुईवटा सम्भावनालाई इङ्गित गर्छ: या त चिनियाँ प्रविधि कम्पनी ह्वावेले गोप्य रूपमा उत्तर कोरियाका लागि हार्डवेयर आपूर्ति गरिरहेको छ, वा उत्तर कोरियाली कम्पनीले ह्वावेको डिजाइनलाई निर्लज्जतापूर्वक ‘कपी’ (नक्कल) गरेको छ । फोनको सफ्टवेयरभित्र भेटिएको ‘हइनिट्रोन’ नामक वाटरमार्कले यसका पार्टपुर्जाहरू चीनबाट आयात गरिएको पुष्टि गर्छ ।

तर, यति महँगो फोन भए पनि यसको प्रविधि भने निकै पुरानो छ । यो अझै पनि एन्ड्रोइड ११ मा चलिरहेको छ, जुन विश्व बजारमा ५ वर्ष पुरानो मानिन्छ । यसमा भएका ६४ मेगापिक्सेल भनिएका क्यामेराहरूले दिने फोटोको गुणस्तर अत्यन्तै कमजोर छ भने पछाडिपट्टि धेरै लेन्सहरू भए पनि ती देखावटी मात्र हुन्; तिनमा जुम वा अल्ट्रा-वाइड जस्ता आधुनिक सुविधाहरू छैनन् ।

यी फोनहरूको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसको ‘किबोर्ड’ र ‘टाइपिङ सिस्टम’ हो । सामान्यतया अटो-करेक्टले हाम्रो हिज्जे सच्याउने काम गर्छ, तर उत्तर कोरियाली फोनहरूमा यसले नागरिकको ‘सोच’ सच्याउने काम गर्छ ।

कुनै प्रयोगकर्ताले फोनमा दक्षिण कोरियालाई जनाउने सामान्य शब्द ‘नामहान’ टाइप गर्न खोज्यो भने, स्पेस बार थिच्ने बित्तिकै फोनको सिस्टमले त्यसलाई आफैँ परिवर्तन गरेर पपेट स्टेट बनाइदिन्छ । आफ्नै आँखा अगाडि आफूले लेख्न खोजेको देशको नाम गालीमा परिणत हुनु सामान्य सेन्सरसिप मात्र होइन, यो ‘ब्रेनवासिङ’ को एउटा खतरनाक तरिका हो । अझ ‘रिपब्लिक अफ कोरिया’ (दक्षिण कोरियाको औपचारिक नाम) लेख्न खोज्दा त्यो शब्द नै टाइप हुँदैन र तारा चिह्न (***) बनेर लुक्छ । उत्तर कोरियालाई भने ‘जोसन’ बाहेक अन्य शब्दमा लेख्न निषेध गरिएको छ ।

कोरियाली संस्कृति (विशेषगरी के-ड्रामा र के-पप मार्फत विश्वभर परिचित) मा केटी मान्छेले आफ्नो दाइ वा प्रेमीलाई बोलाउँदा ‘ओप्पा’ शब्द प्रयोग गर्छन् । यो शब्दमा आत्मीयता र माया झल्कन्छ । तर, उत्तर कोरियाली फोनमा ‘ओप्पा’ टाइप गर्दा त्यो शब्द तुरुन्तै परिवर्तन भएर ‘कमरेड’ बन्छ । यति मात्र होइन, स्क्रिनमा एउटा रातो रङको चेतावनी सन्देश आउँछ, ‘यो शब्द केवल रगतको नाता भएका आफ्ना दाजुभाइका लागि मात्र प्रयोग गर्न पाइन्छ ।’

टाइपिङ गर्दा अर्को एउटा अनौठो फिचर देखिन्छ । प्रयोगकर्ताले उत्तर कोरियाका सर्वोच्च नेता ‘किम जोङ उन’ वा पूर्व नेताहरूको नाम टाइप गर्दा, त्यो नामको फन्ट (अक्षर) अरू शब्दभन्दा अलि ठूलो र बोल्ड भएर आउँछ । यो कुनै सेटिङ मिलाएर हुने होइन, सिस्टममै नेतालाई भगवान सरह सम्मान दिनुपर्छ भन्ने मान्यतालाई कोडिङ गरिएको हो ।

बाहिरी विश्वमा स्मार्टफोनको मुटु नै इन्टरनेट हो । तर उत्तर कोरियाली फोनहरूमा ‘वाई-फाई’ एउटा ठूलो भ्रम हो । सस्तो मोडल ‘हेयाङ ७०१’ मा वाई-फाईको आइकन त देखिन्छ, तर त्यसमा क्लिक गर्दा केही पनि हुँदैन । सेटिङभित्र गएर पनि त्यसलाई सक्रिय बनाउन सकिँदैन । फ्ल्यागशिप ‘सामतेसुङ ८’ मा त सरकारले वाई-फाई सेटिङ नै लुकाइदिएको छ ।

उत्तर कोरियाली नागरिकले हामीले चलाउने जस्तो ‘वर्ल्ड वाइड वेब’ चलाउन पाउँदैनन् । उनीहरूका लागि देश भित्र मात्र चल्ने एउटा आन्तरिक सञ्जाल छ, जसलाई ‘मिरे’ भनिन्छ । तर, यो चलाउन पनि फलामको चिउरा चपाउनु सरह छ ।

मिरे चलाउन नागरिकले सरकारी परिचयपत्र पेश गर्नुपर्छ र आधिकारिक निकायबाट स्वीकृत भएको विशेष सिम कार्ड प्रयोग गर्नुपर्छ । यसको अर्थ, तपाईंले अनलाइनमा के हेर्दै हुनुहुन्छ भन्ने कुरा सरकारलाई व्यक्तिगत रूपमै थाहा हुन्छ ।

यति झन्झटपछि पनि पाइने स्पिड जम्मा २ देखि ३३ एमबिपिएस मात्र हो । त्यसमा पनि गुगल, युट्युब वा विकिपिडिया खुल्दैन । त्यहाँ खुल्ने भनेको केवल सरकारी प्रोपोगान्डा फैलाउने समाचार साइट, सरकारले अनुमति दिएका केही पुराना फिल्म र सीमित एपहरू मात्र हुन् ।

सरकारलाई राम्रोसँग थाहा छ कि जुन दिन नागरिकले खुला इन्टरनेटमा पहुँच पाउँछन् र बाहिरी संसार कति विकसित र स्वतन्त्र छ भन्ने देख्छन्, त्यो दिन उनीहरूको शासन सत्तामाथि प्रश्न उठ्नेछ । त्यसैले उनीहरूले प्रविधिलाई ‘कनेक्टिभिटी’ (सम्पर्क) को साटो ‘आइसोलेसन’ (एक्लोपन) को साधन बनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरियाले कानुनी रूपमा पश्चिमा सफ्टवेयर वा मिडिया खरिद गर्न सक्दैन । तर, सामतेसुङ फोनभित्र हेर्दा त्यहाँ ‘बौद्धिक सम्पत्ति चोरी’ को ठूलो सञ्जाल देखिन्छ ।

फोनको मेनुमा देखिने धेरैजसो एपका आइकनहरू गुगल, माइक्रोसफ्ट, ह्वावे र एप्पलका डिजाइनहरूबाट सिधै चोरी गरिएका छन् । ‘मोबी अफिस’ को नाममा माइक्रोसफ्ट वर्डको लोगो प्रयोग भएको छ ।

फोनमा फुटबलका गेमहरू प्रिलोड गरिएका छन् । तर अचम्मको कुरा, ती गेमहरूमा दक्षिण कोरियाली खेलाडीहरूलाई हटाइएको छ । उदाहरणका लागि, इङ्लिस प्रिमियर लिगको टिम ‘टोटनह्याम हट्सपर’ छान्दा त्यहाँका स्टार खेलाडी तथा दक्षिण कोरियाका कप्तान ‘सन ह्युङ-मिन’ को नाम र अनुहार गायब पारिएको छ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली मानिस पनि विश्व स्तरमा सफल हुन्छन् भन्ने नदेखुन् भनेर यस्तो गरिएको हो ।

फोनमा अमेजन प्राइमका डकुमेन्ट्रीहरू र नेटफ्लिक्स शैलीका भिडियोहरू राखिएका छन्, तर तिनको ब्यानर र शीर्षक परिवर्तन गरेर उत्तर कोरियाली बनाइएको छ । अमेरिकी र दक्षिण कोरियाली फिल्म पूर्ण रूपमा प्रतिबन्धित छन् भने रसियन र भारतीय फिल्महरू (जस्तै: थ्री इडियट्स) भने प्रशस्त भेटिन्छन् ।

उत्तर कोरिया विश्वकै गरिब देशहरू मध्ये पर्छ, जहाँ प्रतिव्यक्ति आय दक्षिण कोरियाको तुलनामा ३.४ प्रतिशत मात्र छ । तर त्यहाँ एपहरूको प्रयोगमा अनौठो लुटतन्त्र छ । नागरिकले ‘एप स्टोर’ बाट सिधै एप डाउनलोड गर्न पाउँदैनन् । एप हाल्न भौतिक पसलमै धाउनुपर्छ । अझ विडम्बनापूर्ण कुरा त के छ भने, फोनमा भएका एपहरूको निश्चित म्याद हुन्छ । ६ महिना वा १ वर्षपछि एप चल्न बन्द हुन्छ र पुनः चलाउन पैसा तिर्नुपर्छ । कानुन र सामान्य ज्ञान सिकाउने सरकारी एपहरू समेत पैसा नतिरी चल्दैनन् । भोकमरीसँग जुधिरहेका जनताका लागि यो ‘डिजिटल कर’ निकै क्रूर देखिन्छ ।

यी फोनहरूको सबैभन्दा खतरनाक र डरलाग्दो पक्ष भनेको अपरेटिङ सिस्टमको सबैभन्दा भित्री तहमा लुकाइएको ‘रेड फ्ल्याग’ नामक जासुसी सफ्टवेयर हो । यसले फोनलाई एउटा निगरानी यन्त्रमा परिणत गरेको छ ।

रेड फ्ल्यागले फोनमा आउने हरेक फाइलको ‘डिजिटल सिग्नेचर’ जाँच गर्छ । यदि तपाईंले पेनड्राइभ वा ब्लुटुथ मार्फत कुनै विदेशी फिल्म, गीत वा पीडीएफ फाइल फोनमा हाल्न खोज्नुभयो भने, सिस्टमले त्यसको कोड जाँच गर्छ । त्यो फाइलमा उत्तर कोरियाली सरकारको ‘इन्क्रिप्टेड’ हस्ताक्षर छैन भने, फोनले त्यसलाई खोल्दैन र तुरुन्तै डिलिट गरिदिन्छ । यसले गर्दा बाहिरी सूचना नागरिकसम्म पुग्नै पाउँदैन ।

यो सफ्टवेयरको अर्को फिचरले जो कोहीको सातो उडाउन सक्छ । प्रयोगकर्ताले फोन चलाइरहेको बेला (गेम खेल्दा, पढ्दा वा टाइप गर्दा), फोनले अनियमित अन्तरालमा स्क्रिनसट लिन्छ । यी स्क्रिनसटहरू एउटा विशेष फोल्डरमा जम्मा हुन्छन् । प्रयोगकर्ताले त्यो फोल्डर हेर्न त सक्छन्, तर त्यहाँका तस्बिरहरू डिलिट गर्न, लुकाउन वा एडिट गर्न सक्दैनन् ।

के यी स्क्रिनसटहरू नेटवर्क मार्फत सिधै प्रहरी वा सरकारी अधिकारीकहाँ पुग्छन् ? यो स्पष्ट छैन । तर, फोनमा सधैं कसैले हेरिरहेको छ भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गर्न यो फिचर पर्याप्त छ । कुनै पनि बेला प्रहरीले फोन चेक गर्दा यदि शङ्कास्पद कुरा स्क्रिनसटमा भेटियो भने, त्यसको परिणाम भयानक हुन सक्छ ।

एक्काइसौं शताब्दीलाई सूचना र प्रविधिको युग भनिन्छ । हातको एउटा सानो यन्त्र स्मार्टफोनले विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको छ । हामी एक क्लिकमा विश्वको कुनै पनि कुनाको खबर थाहा पाउँछौं, आफ्ना विचारहरू स्वतन्त्र रूपमा सामाजिक सञ्जालमा राख्छौं र मन लागेको सामग्री हेर्न सक्छौं । तर, यो विश्वको एउटा यस्तो कुना पनि छ, जहाँ स्मार्टफोनको अर्थ र प्रयोग हाम्रो बुझाइभन्दा ठीक विपरीत छ । त्यो देश हो, उत्तर कोरिया ।

विश्वबाट एक्लिएको, रहस्यको बाक्लो पर्दाले छोपिएको र कठोर तानाशाही शासन व्यवस्था भएको उत्तर कोरियाभित्रका नागरिकले कस्ता मोबाइल चलाउँछन् ? के उनीहरूले फेसबुक, युट्युब वा गुगल चलाउन पाउँछन् ? उनीहरूको फोनमा के–कस्ता एपहरू हुन्छन् ? यी प्रश्नहरूको उत्तर लामो समयसम्म बाहिरी विश्वका लागि एउटा अनुमानको विषय मात्र थियो । तर, हालै ‘मिस्टरहुजदबोस’ले उत्तर कोरियाबाट ज्यान जोखिममा राखेर तस्करी गरिएका दुई अत्यन्त दुर्लभ स्मार्टफोनहरूको ‘अपरेसनल रिभ्यु’ सार्वजनिक गरेपछि त्यहाँको कहालीलाग्दो ‘डिजिटल तानाशाही’ को पर्दाफास भएको हो ।

नोटः यो सामग्री प्रसिद्ध युट्युबर मिस्टरहुइजदबोसको ‘टेस्टिङ नर्थ कोरियाज इलिगल स्मार्टफोन्स’ नामक रिभ्युको सहयोगमा तयार पारिएको हो । मिस्टरहुइजदबोसको सो रिभ्यु यस लिंकमा हेर्न सकिनेछ ।