पशुपतिनाथ क्षेत्रमा श्रीगिता जयन्ती कार्यक्रम सम्पन्न

0
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोष परिसरमा श्रीगिता जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

गीता प्रेस पुस्तक प्रचार–प्रसार केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष सारडाले उपस्थितहरूलाई स्वागत गर्दै गीताप्रेस नेपालको स्थापना, गतिविधि तथा नेपालमा सुरु भएको पुराणहरूको नेपाली भाषामा अनुवाद सम्बन्धी कार्यका बारेमा जानकारी गराए ।

उनले हालसम्म करीब ८० वटा पुस्तक नेपालीमा अनुवाद भइसकेको तथा सन् २०२६ कल्याण शताब्दी वर्षसम्म १०० भन्दा बढी पुस्तक नेपालीमा प्रकाशित गर्ने लक्ष्य रहेको बताए ।

साथै, गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गरी पशुपति क्षेत्रकै पवित्र वातावरणमा प्रचार–प्रसार गर्न दीर्घकालीन व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै पशुपति क्षेत्र विकास कोषको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सदस्य–सचिव सुभाष चन्द्र जोशी, विशिष्ट अतिथि डा. गोविन्द टण्डन तथा मठाधीश श्री पद्मधराचार्यले पनि मन्तव्य व्यक्त गर्दै यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने बताए । पशुपतिनाथका मूल भट्ट गिरीश रावल भट्टले कार्यक्रमका लागि आशिर्वाद प्रदान गरेका थिए ।

धर्म, संस्कृति तथा शिक्षासँग सम्बन्धित विभिन्न संघ–संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापीठ, मारवाडी समाजलगायतका पदाधिकारी तथा विद्वतवर्गको सहभागिताले कार्यक्रम अत्यन्त गरिमामय बनेको आयोजक समितिले जनाएको छ ।