असोजको बाढीबाट प्रभावित व्यवसायीले कर्जा पुनर्संरचना गर्न पाउने

35
Shares

काठमाडौं । दशैंपछि बाढी/पहिरोबाट प्रभावित क्षेत्रका उद्यमी व्यवसायीले बक्यौता ब्याजको १० प्रतिशत बुझाएर कर्जा पुनर्संरचना वा पुनरतालिकीकरण गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

असोज अन्तिममा इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा एकपटकका लागि पुनर्तालिकीकरण वा पु्नर्संरचना गर्न सकिने निर्देशनमा उल्लेख छ । यसरी पुनर्तालिकीकरण वा पु्नर्संरचना गर्दा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी राष्ट्र बैंकले तोकेका शर्त पूरा गर्नुपर्ने निर्देश्नमा उल्लख छ ।

यस्तो पुनर्तालिकीकरण वा पु्नर्संरचना २०८२ चैत मसान्तभित्र गरिसक्नु पर्नेछ र पुनरतालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तिमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशनमा उल्लख छ ।