कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

105
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको कटहरिया नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले साहसहित सात कर्मचारी तथा सरिता फाउण्डेशन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा साहसँगै सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौँका राम नरेश प्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रलाई प्रतिवादी बनाइएको छ।

त्यसैगरी सरिता फाउण्डेशन काठमाडौं र फाउण्डेशनकी निर्देशक सरिता कुमारी साह पनि विपक्षी सूचीमा छन् । उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो माग गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नगरसभाबाट बजेट स्वीकृति नलिई सरिता फाउण्डेशनका नाममा पाँच लाख रुपैयाँको चेक काटेर मिलेमतोमा रकम हिनामिना गरेको उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा प्रतिवादीहरूले बदनियतपूर्वक सरकारी रकम ९ लाख ९८ हजार ९२१ रुपैयाँ भुक्तानी लिई वा दिई हिनामिना गरेको आयोगको ठहर छ । सोही बराबरको विगो र कानूनी सजाय मागदाबीसहित आयोगले आरोपपत्र दायर गरेको जनाएको छ ।