
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले ऊर्जा डेभलपर्सको मिथिला सोलार परियोजनामा लगानी गर्ने सम्झौता गरेको छ। मिथिला सोला परियोजना जनकपुरमा अवस्थित १० मेगावाटको अनग्रिड (प्रणालीमा जोडिएको) सोलार परियोजना हो जसको प्रवर्द्धक ऊर्जा डेभलपर्स हो ।
ऊर्जा डेभलपर्सले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित कोष हो । यो कोषको कोष व्यवस्थापक ग्लोबल इक्विटी फन्ड हो ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डको यो लगानीसँगै ग्लोबल इक्विटी फन्ड नेपालको सोलार क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एकको रूपमा स्थापित भएको छ ।
ग्लोबल इक्विटी फन्डले विभिन्न लगानी माध्यममार्फत अफग्रिड र अनग्रिड दुवै सोलार परियोजनामा लगानी गरेको छ ।
जसमा २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार, मेगावाटको सोलार फार्म र ५० मेगावाटको सोलार फार्म लुम्बिनी र ४० मेगावाटको सोलार फार्म बुद्धभूमिमा लगानी गर्ने प्रतिबद्धता समावेश छन् । यसका अतिरिक्त अफग्रिड प्रदायक घाम पावरमा पनि यसको सेयर लगानी रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका अध्यक्ष डा. मनिष थापाले मिथिला सोलार परियोजनामा हाम्रो रणनीतिक लगानी कोषको नेपालमा दिगो पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खाने बताए ।
सौर्य ऊर्जा नेपालको ऊर्जा सन्तुलन बढाउन, विशेष गरी हाम्रो प्रमुख जलविद्युत् क्षेत्रको पूरकको रूपमा महत्त्वपूर्ण रहेको उनले बताए ।
ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले ग्लोबल इक्विटी फन्डसँग दीर्घकालीन रणनीतिक लगानीकर्ताको रूपमा साझेदारी गर्न पाउँदा खुसी भएको बताए । यो कोष र ऊर्जा डेभलपर्सबीच चौथो सहकार्य हो । यसअघि ८२.५ मेगावाटको मेवा डेभलपर्स लिमिटेड, ५३.५ मेगावाटको अपर मादी – १ जलविद्युत् आयोजना र ऊर्जा इम्प्याक्ट फन्डमा सहकार्य भइसकेको छ ।
मिथिला सोलार परियोजना सौर्य क्षेत्रमा पहिलो प्रवेश हो ।







प्रतिक्रिया