अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपालमै पहिलोपटक एआई ह्याकाथन आयोजना

0
Shares

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर नेपालमै पहिलो पटक एआई ह्याकाथन कार्यक्रम आयोजना गरिएको छ । प्रतीक इनोभेसन्सको आयोना तथा सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिनको प्रस्तुती रहेको ‘एआईडिए’ कार्यक्रमका लागि नेपालभरबाट ५८ भन्दा बढी आवेदन परेका थिए । त्यसमध्येबाट उत्कृष्ट ७ टोलीहरुलाई प्रतिस्पर्धीका रुपमा छनोट गरिएको इभेन्ट डाइरेक्टर जतिन भुसालले बताए ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउने,थप सहभागितामुलक र सुसुचित समाज प्रवर्द्धन गर्ने र बौद्दिक कृतिमता (एआई) संचालित समाधानहरुको विकास गर्ने लक्ष्य राखेको उनले बताए ।

सहभागीहरूले स्मार्ट गतिशीलता र संचार, अटिजम र एआई, डिजिटल हेरचाहकर्ता प्रणाली र र वाक्-अशक्त सिकारुहरूका लागि शिक्षा प्रविधिका चार क्षेत्रमा प्रोटोटाइप विकास गरेका थिए ।

सहभागीहरु द्वारा प्रस्तुत प्रविधिहरूमा सम्बन्धित क्षेत्रका प्रशिक्षक र सल्लाहकारहरूद्वारा उनीहरूका विचार वास्तविकता र आवश्यकतामा आधारित छन् भन्ने सुनिश्चित गर्दै थप मार्गदर्शन प्रदान गरिएको थियो।

७२ घन्टाको आवासीय चरणभन्दा अघि, टोलीहरूले एउटा राष्ट्रिय भर्चुअल आइडियाथनमा भाग लिएका थिए। मोनल टेक, दियो एआई, एनएपीडी नेपाल, काठमाडौं महानगरपालिका र किङ्ग्स् कलेजका निर्णायकहरूद्वारा समस्याको स्पष्टता, सामाजिक प्रभाव, टोलीको क्षमता र कार्यान्वयनको सम्भाव्यताका आधारमा उनीहरूका प्रविष्टिहरूको मूल्याङ्कन गरिएको थियो ।

त्यसपछि, छानिएका शीर्ष सात टोलीहरूले सनवे कलेजमा ३६ घण्टा बिताई आफ्ना प्रोटोटाइपहरू (नमुना) निर्माण गरेका थिए, जसमध्ये धेरै परियोजनाहरू पछि आईसीटी अवार्ड २०२५ स्टार्टअप र आइडियाफेस्टमा प्रदर्शन गरिएका थिए। कुसोइड मिस्नेबाट सरित खड्का, वन पोइन्टबाट विकास नाहटा, काठमाडौं विश्वविद्यालयबाट मनोज शाक्य, अंकुर शर्मा र आरएक्स पिन र स्पेक्ट्रमका संस्थापक ध्रुव अधिकारी लगायतका विविध क्षेत्रका विज्ञहरूले यस प्रदर्शनी निकायलेका थिए ।

कार्यक्रममा थिंक एआईले प्रथम स्था. मिशन चौरासीले दोस्रो स्थान, एसिस कोडले तेस्रो स्थान र टिम साइनाप्टिकले उत्कृष्ट नवप्रवर्तन पुरस्कार प्राप्त गरे ।

आरएक्सपिनको सनफ्लावर स्पेक्ट्रमले न्यूरोडाइवर्जेन्ट व्यक्तिहरू (विशेष गरी अटिजम भएका) हरुको समावेशिता र जनचेतनाका पक्षमा पैरवी गर्छ । आरएक्सपिनका संस्थापक ध्रुब अधिकारीले युवाहरूलाई सचेत बनाउनु मुख्य लक्ष्य रहेको बताए । कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले सचेतना र नवप्रवर्तनको दीर्घकालिन महत्त्वमा जोड दिएका थिए।

प्रतियोगिताको समापनपछि, शीर्ष १६ टोलीहरूलाई परामर्श र अनुसन्धान सहकार्यको अवसरसहित दिगो सहायक प्राविधिक उद्यमका लागि इन्कुवेशन प्रक्रियामा सामेल गरिनेछ। इभेन्ट डाइरेक्टर जतिन भुसालले हरेक वर्ष एआईडिए कार्यक्रम आयोजना गरिने बताए । सनफ्लावर स्पेक्ट्रमले सन् २०२६ मा अन्तर्राष्ट्रिय सम्मेलन “एआई फर पिपुल विथ डिसएबिलिटिज’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी पनि कार्यक्रममा दिइयो ।