साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

70
Shares

कञ्चनपुर । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बित्दा पनि निर्माण भएको छैन ।

जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।

कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताए ।

‘दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्र भएको छैन’, उनले भन्नुभयो, ‘२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।’

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

‘वर्षौंसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नु पर्यो ।’