प्रधानमन्त्रीका स्वकीय सचिवले सचिवालयमा श्रीमतीलाई नियुक्त गरेपछि चौतर्फी विरोध, राजीनामा माग


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको तथ्य सार्वजनिक भएपछि विवाद चर्किएको छ । यससँगै जेनजी फ्रन्ट र जेनजी मुभमेन्टले प्रधानमन्त्री र सचिवालयमाथि विरोध जनाउँदै कडा कदम चाल्न माग गरेका छन् ।

प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार, सचिवसरह सेवा सुविधा लिएका आदर्श श्रेष्ठले असोज २ गते आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिवमा नियुक्त गरेका हुन् । सोही दिन नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । त्यसैगरी प्रशासन सहायक पदमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ समेत नियुक्त भएको खुलेको छ ।

आदर्श श्रेष्ठ स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए र प्रधानमन्त्री कार्की प्रधानन्यायाधीश हुँदा पनि उनी सर्वोच्चमा कार्यरत थिए ।

समाचारहरू सार्वजनिक भएपछि उनलाई तत्काल बर्खास्त गर्न माग भइरहेको छ ।

जेनजी सूमहको माग : प्रमुख स्वकीय सचिव तत्काल बर्खास्त

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नन्तलाई नियुक्ति दिएको भन्दै जेनजी फ्रन्टले आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेको छ । साथै उनले नियुक्ति दिलाएका सबै परिवारजन र नातेदारको पद खारेजी गर्न सरकारसमक्ष माग राखेको छ । फ्रन्टले प्रधानमन्त्री तथा मन्त्रीहरूका स्वकीय सचिवालयमा कार्यरत सबै पदाधिकारीको विस्तृत विवरण सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

जेनजी मुभमेन्ट नेपालले सरकारमाथि ‘भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमण’ गरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । ऊर्जा मन्त्रालयको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ नोक्सानी, अर्थमन्त्रीद्वारा गैरकानुनी कर छुट, महान्यायाधिवक्ताको विवादित प्रकरण, गृहमन्त्रीद्वारा नातेदारीका आधारमा डीआईजी पद सिर्जना, तथा प्रमुख स्वकीय सचिवद्वारा आफन्तको नियुक्ति लगायतका सबै घटना ‘प्रधानमन्त्रीको संरक्षणबिना असम्भव’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास समाप्त’ भइसकेको भन्दै सार्वजनिक अवज्ञासमेत आह्वान गरिएको छ ।