
विराटनगर । औद्योगिक क्षेत्रमा हरेक सुक्खायाममा दोहोरिने विद्युत् आपूर्ति अवरोधलाई समयमै व्यवस्थापन गर्न उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणसँग अनुरोध गरेको छ।
संगठनले समयमै आपूर्ति व्यवस्थापन गरी सुनसरी–मोरङ औद्योगिक क्षेत्रले विगतका सुक्खायाममा भोग्दै आएको अघोषित लोडसेडिङ र अत्यधिक ट्रिपिङको समस्याबाट मुक्त गराउन प्राधिकरण नेतृत्वसमक्ष आग्रह गरेको छ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले प्राधिकरणका कार्यकारी निर्देशकलाई पठाएको लिखित पत्रमा उल्लेख गरिएअनुसार, विगतका सुक्खायाममा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूले अघोषित लोडसेडिङ, ट्रिपिङ, फ्लक्चुएसनलगायत विद्युत्–सम्बन्धी विभिन्न समस्या झेल्दै आएका छन् ।
केही समययता आपूर्ति अवस्थाको सुधार महसुस भएको भन्दै उनले आगामी सुक्खायाममा पनि यस्तै निरन्तर आपूर्ति कायम गर्न माग गरेका छन् ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रले विगतका सुक्खायाममा दैनिक ६ देखि १० घण्टासम्म विद्युत् कटौती सहनुपरेको कटु तथ्य रहेको पत्रमा स्मरण गराइएको छ ।
नजिकिँदै गरेको सुक्खायाममा उद्योगहरूले पुनः त्यही समस्या भोग्न नपरोस् भनेर आवश्यक विद्युत् आयात, व्यवस्थापन वा वैकल्पिक आपूर्तिको स्पष्ट योजना बनाउन प्राधिकरणलाई आग्रह गरिएको छ।
उद्योग सञ्चालनका लागि अत्यावश्यक विद्युत् आपूर्तिमा हुने अवरोधले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने, उत्पादन लागत अत्यधिक बढाउने र समग्र व्यापारमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै राठीले पत्रमा भनेका छन्, ‘उद्योगहरूले रोजगारी, कर राजस्व तथा राष्ट्रिय अर्थतन्त्रमा पुर्याउँदै आएको योगदानलाई मध्यनजर गर्दै आगामी सुक्खायाममा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गर्न आवश्यक तयारी गर्न अनुरोध गर्दछु।’
सुक्खायाममा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूमा प्रत्येक वर्ष विद्युत् आपूर्ति घट्दै आएको उल्लेख गर्दै, प्राधिकरणले दैनिक ६ देखि १२ घण्टासम्म अघोषित लोडसेडिङ तथा अत्यधिक ट्रिपिङ गर्दै आएको संगठनले जनाएको छ।
गत वर्षको सुक्खायाममा यहाँका सामान्य उद्योगहरूले दैनिक ६ घण्टा र फलाम उद्योगहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङ सहनुपरेको थियो । प्राधिकरणले मुस्किलले दिनमा ६ घण्टा विद्युत् आपूर्ति गर्दा समेत अत्यधिक ट्रिपिङका कारण उद्योगहरू थप प्रभावित भएका थिए ।
उद्योग संगठन मोरङको एक अध्ययनअनुसार, गत सुक्खायाममा यो औद्योगिक करिडोरमा एकै दिन ६२ पटकसम्म विद्युत् ट्रिपिङ भएको थियो। त्यस अवधिमा उद्योगहरूले उत्पादनमा ६० प्रतिशतसम्म कटौती गर्नुपरेको थियो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरभित्र कटहरी, बुढीगंगा र दुहबी क्षेत्र पर्दछन्। ती औद्योगिक क्षेत्रमा ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानीमार्गबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।







प्रतिक्रिया