
काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंको महाअभियानले मंसिर ७ गतेको नेपाल बन्द फिर्ता लिने भएको छ । प्रसाईंका छोरा डा. निराजनसमेत सहभागी सरकार र महाअभियानको बैठक सहमतिमा पुगेको हो ।
प्रसाईंको सरकार, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधि र सरकारबीच शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको वार्तामा सहमति जुटेपछि महाअभियानले मंसिर ७ गतेदेखि घोषणा गरिएको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्ताल स्थगित हुने भएको हो ।
बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सरकारी टोली र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी टोलीबीच विस्तृत छलफल भएको थियो ।
वार्तामा महाअभियानले अघि सारेका २७ बुँदे मागका विषयमा विस्तृत रूपमा कुराकानी भएको बताइएको छ । शान्ति–सुरक्षाको वर्तमान अवस्थालाई समेत ध्यानमा राख्दै उठाइएका मुद्दाहरूको समाधानका लागि सरकार निरन्तर संवाद, छलफल र सहजीकरण गर्दै जाने सहमति भएको छ।
महाअभियानको शीर्ष नेतृत्वको उपस्थितिसहित अर्को चरणको वार्ता छिट्टै गर्ने समझदारी पनि बनेको छ । महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।











प्रतिक्रिया