
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्ने भएको छ । बैठक आज साढे २ बजे सुरक्षा परिषद् सचिवालयमा बस्ने तयारी भएको हो ।
बाराको सिमरामा उत्पन्न तनावग्रस्त अवस्थाबारे मूल्यांकन र आगामी सुरक्षा व्यवस्थाबारे निर्णय गर्न बैठक बोलाइएको हो । बुधबार सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले तोडफोड तथा सडकमा आगजनी गरेपछि अवस्था अत्यन्त संवेदनशील बनेको थियो । एमाले नेताहरू सिमरा जान लागेको विरोधमा उत्रिएका युवाहरू आक्रामक बनेपछि त्यहाँ साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो। आज बिहान पुनः स्थिति तनावग्रस्त बन्दै गएपछि फेरि कर्फ्यु लगाइएको छ।
यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद् बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आज बिहानै आफ्ना मातहतका सबै सुरक्षा निकायका प्रमुखसँग सिंहदरबारमा थप सुरक्षा रणनीतिबारे छलफल गरेका थिए ।
केन्द्रीय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्मा गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारका मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिव सदस्य रहने प्रावधान छ।
सिमराको घटनाले मुलुकको शान्ति–सुरक्षामा गम्भीर असर पारिरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पनि ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई मजबुत बनाउन सरकारलाई आग्रह गरेको छ।








प्रतिक्रिया