गृहमन्त्रीलाई सुधनको चेतावनी: हाम्रो मौनता कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ

126
Shares

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक तथा ‘द काउन्सिल अफ जेन–जी’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरुको मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

बुधबार मध्यराति ‘मौनतालाई कमजोरी नठान्नू: जनआन्दोलनको ज्वालामुखी उठ्दै छ’ शीर्षकको ब्यानरसहित स्टाटस पोस्ट गरेका गुरुङले सिमरामा भएको झडपको सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीको ‘लाचार नेतृत्व’ मा जाने दाबी गरेका छन् ।

उनले एमालेका कार्यकर्ता वा समूह परिचालित ‘गुण्डा’ जेनजीको शान्तिपूर्ण कार्यक्रममा घुसेर अभद्र व्यवहार तथा कुटपिट गरेको आरोप लगाएका छन् ।

गुरुङले लेखेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र जेनजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो ।’

गृहमन्त्री अर्यालले तत्काल राजीनामा नदिए, भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्नलाई कारबाही गर्न नसके, देश परिवर्तनका लागि लड्ने युवक–युवतीमाथि हिंसा हुँदा “कानमा तेल हालेर बस्ने” अवस्था निरन्तर रहेमा आफू ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्ने जनाएका छन् ।

गुरुङले सिमराको घटनालाई सरकारको उदासीनता र शक्तिको दुरुपयोगको प्रत्यक्ष उदाहरण भन्दै गृहमन्त्रीलाई खुलेआम चुनौती दिएका छन् । ‘हत्याराहरूले हामीलाई खुला चुनौती दिँदै हिँड्दा सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुन्छ,’ उनले चेतावनी दिए ।

उनले बच्चाहरूको रगतले लतपतिएको कुर्चीमा बसेर हत्याराहरू ठाडो शिर उठाएर हाँस्दै हिँडेको लाचार भएर टुलुटुलु हेरेर बस्न लाज लाग्दैन गृहमन्त्रीज्यू? भन्दै प्रश्न गरेका छन् ।