
काठमाडौं । सिमरा विमानस्थल बन्द भएका कारण यो विमानस्थल हुने बुधबारको सबै उडान रद्द भएको छ । सिमरामा दैनिक ५ वटा उडान गरिरहेको बुध्द एयरले आजका सबै उडान रद्द गरेको जानकारी दिएको छ ।
यो वायुसेवाले भनेको छ, ‘असहज परिस्थितिका कारण आजको सम्पूर्ण सिमराका उडान स्थगन गरिएको छ । टिकेट रिसेड्युल तथा थप जानकारीका बुध्द एयरको कल सेन्टरमा सम्पर्क गनुपर्ने छ ।’
अहिले सिमराको अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जाँदै थिए। बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।








प्रतिक्रिया