जेनजी र एमाले युवाबीचको झडपपछि सिमरा विमानस्थल बन्द, यात्रु अलपत्र


काठमाडौं । बाराको सिमरास्थित विमानस्थल आसपास जेनजी र नेकपा एमालेका युवाबीच झडप भएको छ । दुईपक्षबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ । अवस्था गम्भीर बन्दै गएको भन्दै स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आइपुग्ने भएसँगै उनीहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थल पुगेका थिए भने बस्नेत लगायतको बिरोधमा जेनजी युवा पुगेपछि दुईपक्षबीच झडपको अवस्था बनेको हो । विमानस्थल बन्द भएपछि पोखरेल र बस्नेतको उडानसमेत रोकिएको जनाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन पोखरेल र बस्नेत सिमरा आउने कार्यक्रम थियो ।

प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोड भएको छ भने एमाले कार्यकर्ता र प्रहरीसँग जेनजी समूहको झडप समेत भएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सिमरा विमानस्थल बन्द गरिएको छ । बन्द भएसँगै ५ वटा उडान अवरुद्ध भएको छ । विमानस्थल पुगेका सर्वसाधारण यतिबेला अलपत्र परेका छन् । सिमरामा बुध्द एयरले दैनिक दुईतर्फी १० वटा उडान गर्छ । आजका १० उडानमध्ये दुई भइसकेको छ भने अन्य प्रभावित भएका छन् ।