
काठमाडौं । बाराको सिमरास्थित विमानस्थल आसपास जेनजी र नेकपा एमालेका युवाबीच झडप भएको छ । दुईपक्षबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ । अवस्था गम्भीर बन्दै गएको भन्दै स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आइपुग्ने भएसँगै उनीहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थल पुगेका थिए भने बस्नेत लगायतको बिरोधमा जेनजी युवा पुगेपछि दुईपक्षबीच झडपको अवस्था बनेको हो ।
बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन पोखरेल र बस्नेत सिमरा आउने कार्यक्रम थियो ।
प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोड भएको छ भने एमाले कार्यकर्ता र प्रहरीसँग जेनजी समूहको झडप समेत भएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
प्रदर्शनकारीले सिमरा विमानस्थलको मुख्य गेटमा तोडफोड गरेका छन् भने अन्य संरचनामा समेत क्षति पुर्याएको बताइएको छ । विमानस्थल परिसरमा ढुङ्गामुढा सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । तोडफोडपछि सिमरा विमानस्थल अनिश्चित समयका लागि बन्द गरिएको छ ।
अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको सूचनामा जेनजी युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहहरुको झडप भइरहेकोले सरकारी सम्पत्ति पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज ३ गते दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म बारा जिल्लाको जीतपूरसिमरा उमनपा भित्रको गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।







प्रतिक्रिया