
एजेन्सी । भारतको आन्ध्र प्रदेशको मारेडुमिल्ली र टाइगर क्याम्प क्षेत्रमा सुरक्षाकर्मीले गरेको नक्सलसविरोधी कारबाहीमा ठूलो सफलता प्राप्त भएको छ ।
शीर्ष माओवादी कमाण्डर मडावी हिड्मा र उनकी पत्नी कारबाहीमा मारिएका छन् ।
हिड्मा सन् २०१३ को झिरम घाटी नरसंहारका मुख्य अभियुक्त मानिन्थे । त्यसले छत्तीसगढ कांग्रेसको शीर्ष नेतृत्व नै समाप्त गरिदिएको थियो ।
सन् २०१० अप्रिलमा दन्तेवाडामा ७६ जना सीआरपीएफ जवानको हत्यामा पनि उनको भूमिका थियो । यीबाहेक उनले कम्तीमा २६ वटा माओवादी आक्रमणमा नेतृत्व गरेको बताइन्छ । हिड्माविरुद्ध १ करोड भारुको इनाम थियो ।
राज्यको सुरक्षा निकायले मारेडुमिल्ली र टाइगर क्याम्प क्षेत्रको घना पुल्लगण्डी जंगलभित्र (जुन आन्ध्र प्रदेश, छत्तीसगढ र तेलंगानाको सीमाक्षेत्र हो) माओवादीहरूका गतिविधिबारे ठोस गोप्य सूचना पाएको थियो । सोही जानकारीको आधारमा सुरक्षाबलहरूले छिटो कदम चाल्दै समन्वित अपरेशन सुरु गर्दै क्षेत्रमा घेरा हालेका थिए ।
सुरक्षाबलहरू अगाडि बढ्दै जाँदा जंगलभित्र लुकिरहेका सशस्त्र माओवादीहरूले गोली प्रहार गरे । त्यसपछि धेरै घण्टासम्म भीषण भिडन्त जारी रह्यो ।
यो भिडन्त पछिल्ला महिनाहरूमा भएको सबैभन्दा रणनीतिक र महत्त्वपूर्ण अपरेसनमध्ये एक मानिएको छ । विश्वसनीय स्रोतअनुसार, उक्त कारबाहीमा ६ जना माओवादी मारिएका छन् ।
सन् १९८१ मा सुख्मामा जन्मिएका हिड्मा पीपल्स लिबरेशन गुरिल्ला आर्मीको एक बटालियनका कमान्डर थिए र माओवादी केन्द्रीय समितिका सदस्य थिए । उनी बस्तर क्षेत्रबाट माओवादी शीर्ष नेतृत्वमा पुगेका एकमात्र आदिवासी सदस्य भएको विश्वास गरिन्छ ।








प्रतिक्रिया