चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य प्रतिक्रिया जनाउला ? विभाजित छन् जापानीहरू

231
Shares

एजेन्सी । चीनले ताइवानमाथि सैन्य आक्रमण गरेमा जापानले आत्मरक्षाका लागि सैन्य कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा जापानीहरूको मत विभाजन रहेको क्योदो समाचार संस्थाले गरेको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणमा ४८.८ प्रतिशतले सैन्य कारवाहीको पक्षमा मत दिएका छन् भने ४४.२ प्रतिशत विपक्षमा उभिएका छन् ।

सर्वेक्षणमा सहभागी ६०.४ प्रतिशतले देशको रक्षा खर्च बढाउने प्रधानमन्त्री सानाए ताकाइचीको योजनालाई समर्थन गरेका छन् ।

ताकाइचीले ताइवानका विषयमा गरेको टिप्पणीपछि चीन र जापानबीच कूटनीतिक तनाव आएको समयमा यो सर्वेक्षण गरिएको हो । नोभेम्बर ७ मा ताकाइचीले ताइवानमाथि चीनको आक्रमण भएमा जापानले पनि सैन्य प्रतिक्रिया दिने सम्भावना रहेको बताएकी थिइन् ।

ताइवान जापानभन्दा ११० किलोमिटर टाढा छ । चीनले ताइवानसँगको एकीकरणमा बलप्रयोग गर्ने सम्भावनालाई नकारेको छैन ।

ताकाइचीको टिप्प्णीले चिनियाँहरूलाई आक्रोशित बनाएको छ । चीन सरकारले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न सुझाव दिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री ताकाइचीले देशको कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत बराबर रक्षा खर्च यही आर्थिक वर्षमा पुर्याउने वाचा गरेकी छन् जबकि लक्ष्य सन् २०२७ का लागि राखिएको थियो ।

Skip This