
एजेन्सी । भारतको बिहार राज्यमा विधानसभा चुनावको मतपरिणाम आउने क्रम जारी छ ।
लगभग आधा मतगणना हुँदा भारतीय जनता पार्टीका लागि निकै राम्रो परिणाम आउने देखिएको छ ।
नीतीश कुमारको जेडीयू विगत तीन दशकदेखि भाजपाको सहयोगी हो । तर नीतीशले बीचबीचमा भाजपाको साथ छोडेर आरजेडी र कांग्रेससँग पनि गठबन्धन गर्ने गरेका छन् ।
तर, अहिलेको मतको रुझान हेर्दा नीतीशलाई अब गठबन्धन बदल्न गाह्रो हुने देखिएको छ । अहिलेकै रुझान अनुसार अन्तिम परिणाम आयो भने भाजपाले नीतीशको समर्थन विना नै पनि सरकार बनाउन सक्छ । त्यस अवस्थामा नीतीशले बार्गेनिङ गर्न सक्दैनन् ।
अहिलेसम्म एनडीए गठबन्धनले २४३ मध्ये २०६ सिटमा अग्रता पाएको देखिएको छ । त्यसमा जेडीयूको सम्भावित ८३ सिट घटाएमा पनि गठबन्धनले बहुमत ल्याउन सक्छ । भाजपा ९५, एलजेपी (आर) २०, हम ५ र आरएलएम ४ सिटमा अगाडि छन् । त्यो संख्या जोड्दा १२४ पुग्छ । बहुमतका लागि १२२ सिट आवश्यक हुन्छ ।
अझ, जेडीयूले धोका दिएर महागठबन्धनसँग जोडिन गएमा पनि बहुमत ल्याउन असम्भव हुनेछ । महागठबन्धनले निकै कमजोर प्रदर्शन गर्दै जम्मा २८ सिटमा अग्रता लिएको छ ।








प्रतिक्रिया