पहिलोपटक पदमार्गको वर्गीकरणः ५ किलोमिटरभित्र हाइकिङ, तीन हजार मिटरमाथि पुगे साहसिक पर्यटन

154
Shares

काठमाडौं । सरकारले पहिलोपटक पदमार्गको वर्गीकरण गरेको छ । सरकारले पर्यटन प्रवर्द्धन र विकास गर्न पदमार्गको वर्गीकरण गरेको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन २०८२’ सार्वजनिक गरेर नेपालमा पहिलोपटक पदयात्रा मार्गको वर्गीकरण गरेको हो ।

सरकारले गरेको पदमार्गको वर्गीकरण अनुसार एक दिनभित्र यात्रा गरिने न्यूनतम ५ किलोमिटर दूरीको मार्ग हाइकिङ हुने छ । एक दिनभन्दा बढी समय लगाएर यात्रा गर्न सकिने र अधिकतम ३ हजार मिटर उचाईसम्मको सहज पदमार्ग हुने छ भने एक दिनभन्दा बढी समय लाग्ने र तीन हजार मिटरभन्दा माथिको उचाईको मार्ग साहसिक पदमार्ग हुने उल्लेख छ ।

सरकारले ल्याएको पदमार्ग सम्बन्धी मापदण्डमा यसको रेखाङ्कनसमेत गर्नुपर्ने छ । स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी, मोटरबाटोसँग नजोडिने गरी र प्राकृतिक, जैविक, सांस्कृतिक एवम ऐतिहासिक महत्वका स्थानलाई जोडेर पदमार्गको रेखाङ्कन गर्नुपर्ने छ ।

पदमार्ग बनाउँदा कम्तिमा ५ किलोमिटर हुनुपर्ने छ । यस्ता पदमार्गको, चौडाईमा हाइकिङको २ मिटर र साहसिक पदमार्गको डेढ मिटर हुनुपर्ने छ ।

पदमार्गको सिढी बनाउँदाको हकमा भने हाइकिङको लागि १८ देखि २० सेन्टिमिटर, सजको लागि १६ देखि १८ सेन्टिमिरटको र साहसिकको लागि १४ देखि १६ सेन्टिमिटर हुनुपर्ने छ । पदयात्रामा सिँढी बनाउँदा अपाङ्गमैत्री संरचनासमेत हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

हाइकिङ पदमार्ग स्थानीय तहले, सहज पदयात्रा प्रदेश तह र साहसिक पदमार्ग नेपाल सरकारले बनाउनुपर्ने छ ।

पदयात्रा बनाउँदा स्थानीय स्रोत साधनको प्रयोग गर्नुपर्ने, विश्राम स्थल, शौचालय, फोहोर संकलन गर्नेसहितको पूर्वाधार अनिवार्य बनाउनुपर्ने छ ।

पदमार्गको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने छ । पदयात्राको नियमित मर्मत संभार, निरीक्षण र अनुगमन गर्ने, पदयात्रीको अभिलेख राख्नेसहितको काम स्थानीय तहले गर्ने छ । पदमार्गमा खानेपानी, शौचालय, पर्यटन सूचना केन्द्र, विश्राम स्थल, आपतकालीन उद्दार भ्यू प्वाइन्टसहितका सुविधा हुनुपर्ने छ ।

आवास तथा खानेपानीको सेवाका लागि तीन तहका सरकारले स्थानीय समूदाय वा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने छ । होमस्टे वा होटलको सुविधा, कम्तिमा ५ किलोमिटरमा खाजा घर, उपयुक्त स्थानमा क्याम्पिङ साइट हुनुपर्ने छ ।

यस्तो छ पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन २०८२