माउन्टेन इनर्जीले कमायो ३ महिनामा ४२ करोड नाफा

161
Shares


काठमाडौं । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४२ करोड ३४ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षमा कम्पनीको नाफा उल्लेख्य रुपमा बढेको छ ।

नाफा बढेसँगै कम्पनीको त्रैमासको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २७ पैसा पुगेको छ । गत आवको प्रथम त्रैमासमा १३ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा नाफसँगै उल्लेख्य बढेको हो । उक्त नाफाको आधारमा वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ८ पैसा पुगेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश समायोजनपछि प्रतिसेयर आम्दानी केही घट्नेछ ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भएको उच्च वृद्धि र वित्तीय आम्दानीमा बढेको छ । तर, ब्याजदर घटेसँगै कम्पनीकोले लिएको कर्जाको किस्ता घट्दै गएको छ । जसले नाफा बढाउन सहयोग पुगेको हो ।

कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ६० लाख २० हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै कम्पनीले २ करोड ९० लाख १६ हजार वित्तीय आम्दानी गर्दा परियोजना बनाउँदा लिएको ऋणको किस्ता ६ करोड ५२ लाख रुपैयाँबाट ५ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

२ अर्ब ६० करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा १ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा पुगेको छ ।