
बागलुङ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ ।
बागलुङको ढोरपाटन नगरपालिका(२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।
कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाले । सुरूमा उनलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर, पछि धेरै पाल्ने चाहना जागेपछि अहिले कालिजपालन व्यवसाय फस्टाउँदै गएको छ । २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म ५० लाख बढी लगानी गरिसकेका छन् । १० रोपनी क्षेत्रफलमा तारबार लगाएर उनले कालिज हुर्काइरहेका छ्न् ।
कालिज व्यवसाय राम्रो हुँदै गएपछि चल्लासमेत आफैँ उत्पादन थालेका छन् । बाह्र वर्ष अगाडि स्थायी सरकारी जागिर प्रवेश गरेका कँडेल स्वास्थ्यकर्मी हुन् । बिहान बेलुका कालिजको रेखदेख गर्ने उनी दिउँसो बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन् ।
सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरू गरेको व्यवसाय राम्रो हुँदै गएपछि उत्साहित भएको उनले सुनाए । फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको उनको भनाइ छ ।
दसैँतिहारको अवधिमा दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनी बताउँछन् । सुरूमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेलको अनुभव छ । उनले प्रतिकालिज २ हजारदेखि २५ सयसम्ममा बिक्री गर्दै आएका छन् ।
‘यो पेसा मेरो रहरको पेसा हो, मैले सुरूमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो’, उनी भन्छन्, ‘पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।’
केही दिनअगाडि चितुवा फार्ममा पसेर डेढ सयजति कालिज मारिदिँदा उनले ३ लाख नोक्सानी व्यहोरे । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन् । कँडेलको कालिजपालनलाई बुबा तुलसीरामले साथ दिएका छन् ।
यस वर्ष १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको उनको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने कँडेल बताउँछन् ।







प्रतिक्रिया