ठमेलमा रहेको होटल वैशाली पाँचतारेमा स्तरोन्नति हुँदै, म्यारियटले व्यवस्थापन गर्ने, लागत कति ?

420
Shares

काठमाडौं । काठमाडौं ठमेलमा रहेको चारतारे होटल वैशाली पाँचतारेमा स्तरोन्नति हुने भएको छ ।

मनाङ हस्पिटालिटी प्रालिले ठमेलमा रहेको होटल वैशालीलाई स्तरोन्नति गर्दै ‘फोर पोइन्ट बाई सेराटन’ ब्रान्डमा पाँच तारे होटल बनाउने भएको हो ।

सन् २०२५ मा स्थापना भएको कम्पनीले होटलको व्यवस्थापन म्यारियट इन्टरनेशनलले गर्ने छ । कम्पनीकाअनुसार होटलमा १ सय ८ वटा आधुनिक सुविधाको व्यवस्थासहित निर्माण गर्ने भएको हो । कम्पनीले क्याटरिङ र लेजर ट्राभलरसहितको सुविधा दिनेछ ।

कम्पनीले आंशिक रुपमा सन् २०२७ देखि पाँच तारेमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, पूर्ण क्षमतामा भने सन् २०२८ बाट सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीको भनाइ छ ।

कर्मा तेन्जिङको ६३ प्रतिशत स्वामित्व रहेको कम्पनीले होटल रुपान्तरण गर्न साढे २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ ।

कम्पनीले हाल रहेको होटल वैशालीलाई पाँचतारे होटलमा नयाँ ब्रान्डमा रुपान्तरण गर्न २ अर्ब ६७ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । जसमा कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको हो । हाल होटलको स्तरोन्नति कार्य पहिलो चरणमा रहेको कम्पनीले जनाएको छ ।

गुड कर्मा ग्रुपद्वारा सञ्चालित यस कम्पनीको अध्यक्ष तेन्जिङ अमेरिकाको विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनी रियल इस्टेट, शिक्षा र हस्पिटालिटी क्षेत्रमा आबद्ध छन् ।