
एजेन्सी । पश्चिमी प्रशान्त महासागरस्थित अमेरिकाको प्रमुख सैन्य क्षेत्र ग्वाममा सोमबारबाट २९औं संस्करणको मलाबार जलसैनिक अभ्यास सुरु भएको छ ।
यो हिन्द–प्रशान्त क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण बहुपक्षीय समुद्री अभ्यासहरूमध्ये एक हो । नोभेम्बर १० देखि १८ सम्म चल्ने नौदिने यस अभ्यासले भारत, अमेरिका, जापान र अस्ट्रेलियाका जलसैनिक बलहरूलाई एकैसाथ ल्याएको छ । यी चार देशहरू क्वाडका सदस्य हुन् ।
भारतीय जलसेनाको निर्देशित क्षेप्यास्त्रयुक्त स्टेल्थ फ्रिगेट आईएनएस सह्याद्री यस अभ्यासमा सहभागी छ । यससँगै अमेरिकी जलसेनाको यूएसएस फिट्जेराल्ड, अस्ट्रेलियाली जलसेनाको एचएमएएस बलाराट र जापानी जलसेनाको जेएस ह्युगा हेलिकप्टर डेस्ट्रोयर पनि सहभागी छन् ।
भारतीय जलसेनाले आइतबार सह्याद्री ग्वाम पुगेको पुष्टि गर्दै यसले भारतको दीर्घकालीन समुद्री साझेदारी र क्षेत्रीय सुरक्षालाई सुदृढ गर्न परस्पर सञ्चालन क्षमताको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनायो ।
अभ्यासको पहिलो चरण (नोभेम्बर १०–१२) ग्वामको बन्दरगाहमा हुनेछ । त्यसमा सञ्चालन योजना, सञ्चार समन्वय, क्रस–डेक परिचय र मैत्रीपूर्ण खेलकुद अन्तर्क्रिया हुनेछन् । दोस्रो चरण (नोभेम्बर १३–१७) समुद्रमा हुनेछ । त्यसमा संयुक्त फ्लीट सञ्चालन, पनडुब्बी विरोधी युद्धाभ्यास, तोप अभ्यास र एकीकृत हवाई सञ्चालनजस्ता जटिल जलैसैनिक अभ्यासहरू समावेश हुनेछन् ।
यस वर्षको मलाबार विशेष रूपमा महत्त्वपूर्ण छ किनभने यो भारत–अमेरिका बीच गत महिना हस्ताक्षर भएको यूएस–इन्डिया मेजर डिफेन्स पार्टनरशिप फ्रेमवर्कपछि भएको पहिलो प्रमुख सैन्य सहभागिता हो ।
भारतका रक्षामन्त्री राजनाथ सिंह र उनका अमेरिकी समकक्षी पिट हेगसेथले अक्टोबर ३१ मा मलेसियामा भएको आसियान रक्षामन्त्रीहरूको बैठकको क्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै नेताहरूले रक्षा सम्बन्ध भारत–अमेरिका सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहनेछ भनी जोड दिएका थिए ।
व्यापारिक असमझदारी र अमेरिकी हिन्द–प्रशान्त प्राथमिकतामा भइरहेको पुनःसंरचनाका बाबजुद भारतले मलाबार जस्ता प्लेटफर्महरूमार्फत सैन्य सहकार्यलाई निरन्तरता दिएको छ । यसले राजनीतिक उतारचढावबीच पनि रक्षा सम्बन्धलाई स्थिर राखिएको संकेत दिन्छ ।
मलाबार अभ्यास सन् १९९२ मा भारत र अमेरिकाबीचको द्विपक्षीय अभ्यासका रूपमा सुरु भएको थियो । अहिले यो क्वाड समूहको समुद्री समन्वयको प्रतीक बनेको छ ।
चारै देशहरूसँग अत्याधुनिक समुद्री गश्ती र पनडुब्बीनिरोधी विमानहरू छन् । तिनले वास्तविक समयमा जानकारी आदानप्रदान गरी समुद्री सञ्चालनको साझा तस्वीर तयार गर्न सक्छन् । तिनीहरूको परस्पर अनुकूल प्लेटफर्म र सञ्चार प्रणालीले साझा सुरक्षा चुनौतीहरूमा समन्वित रूपमा प्रतिक्रिया दिन सक्ने क्षमतालाई झल्काउँछ ।
बेइजिङले मलाबारलाई चीनविरोधी गठबन्धनका रूपमा व्याख्या गर्दै आएको छ । सहभागी राष्ट्रहरूले यसलाई अस्वीकार गरे पनि अभ्यासले क्वाड सदस्यहरूबीच चीनको आक्रामक व्यवहारको प्रतिक्रियामा बढ्दो रणनीतिक मेलमिलापलाई प्रस्ट देखाउँछ ।
भारत, जापान र अस्ट्रेलियाले चीनका ग्रे–जोन भनिने रणनीतिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । दक्षिण र पूर्व चीन सागरमा तथा भारतसँगको वास्तविक नियन्त्रण रेखामा चीनले त्यस्तो रणनीति अँगालेको उनीहरूको भनाइ छ ।








प्रतिक्रिया