
एजेन्सी । अमेरिकाको सुरक्षा निकाय एफबीआईका निर्देशक काश पटेलले गत हप्ता चीन भ्रमण गरी फेन्टानाइल र कानून कार्यान्वयन सम्बन्धी विषयमा छलफल गरेको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
अमेरिका र चीनका राष्ट्रपतिबीचको दक्षिण कोरियामा भएको शिखर वार्तापछि पटेलको भ्रमण भएको हो ।
पटेलको भ्रमणबारे जानकारी राख्ने एक व्यक्तिले बताएअनुसार, संघीय अनुसन्धान ब्यूरोका निर्देशक पटेल शुक्रबार बेइजिङ पुगेका थिए । उनी त्यहाँ एक रात बसे । शनिबार उनले चिनियाँ अधिकारीहरूसँग वार्ता गरेका थिए ।
उनको बेइजिङ भ्रमणका विषयमा अमेरिका र चीन दुवैले औपचारिक रूपमा घोषणा गरेका छैनन् ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले आफूलाई उक्त भ्रमणको जानकारी नभएको सोमबार बताए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र बेइजिङस्थित अमेरिकी दूतावास दुवैले प्रतिक्रियाका लागि अनुरोधहरूमा जवाफ नदिएको रोयटर्स लेख्छ ।
चीनले लागूपदार्थसँग सम्बन्धित प्रीकर्सर रासायनिक पदार्थहरूको सूचीमा परिमार्जन गर्ने र अमेरिका, क्यानडा तथा मेक्सिकोतर्फ निर्यात गर्नका लागि विशेष अनुमति लिन आवश्यक बनाउने सोमबार चीनको वाणिज्य मन्त्रालयले घोषणा गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अक्टोबर महिनामा भएको वार्तामा चीनका राष्ट्रपति सीसँग सहमति गरेपछि फेन्टानाइलको आपूर्तिबारे चीनलाई दण्डस्वरूप लगाइएका भन्सार शुल्कहरू १० प्रतिशतमा झारेका छन् ।
वार्तापछि ट्रम्पले पत्रकारहरूलाई सीले फेन्टानाइलको प्रवाह रोक्न धेरै गम्भीर रूपमा काम गर्ने वाचा गरेको बताएका थिए ।
फेन्टानाइल घातक कृत्रिम लागूऔषध हो र यसले अमेरिकीहरूमा ओभरडोजका कारण मृत्यु गराएको छ ।
अमेरिकाका अर्थमन्त्री स्कट बेसन्टले यस नयाँ सहमतिका विवरणहरू नयाँ द्विपक्षीय कार्यसमूहमार्फत तय गरिने बताएका छन् । पटेलले बेइजिङ भ्रमणका क्रममा यस नयाँ संयन्त्रबारे चर्चा गरे–नगरेको स्पष्ट छैन ।
यस सम्झौताले ट्रम्प प्रशासनको नीतिमा परिवर्तनको संकेत गरेको छ । यसअघि चीनले फेन्टानाइल आपूर्ति श्रृंखलामा कडाइ नगरेसम्म दण्डात्मक कदमहरू कायम रहने ट्रम्पले बताएका थिए ।
चिनियाँ अधिकारीहरूले आफ्नो भूमिकाको प्रतिरक्षा गर्दै आएका छन् । फेन्टानाइल उत्पादनका लागि प्रयोग हुने रासायनिक पदार्थहरू नियमन गर्न चीनले पहिल्यै व्यापक कदम चालेको र वाशिङटनले यस विषयलाई दबाब र ब्ल्याकमेलका रूपमा प्रयोग गरेको आरोप चिनियाँहरूले लगाएका छन् ।
सी–ट्रम्प सम्झौता फेन्टानाइलमा मात्र सीमित थिएन । चीनले अमेरिकी सोयाबिन खरिद पुनः सुरु गर्ने सहमति पनि त्यसक्रममा गरिएको थियो ।
बेइजिङले पनि आफ्नो तर्फबाट अक्टोबर महिनामा घोषणा गरेका दुर्लभ खनिज पदार्थमाथिको निर्यात प्रतिबन्धलाई केही समयका लागि रोक्ने सहमति जनाएको छ । यी तत्त्वहरू आधुनिक प्रविधिमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छन् ।








प्रतिक्रिया