सवारी मोडिफाइ गरी चर्को हर्न बजाउँदै सवारी चलाउने कारबाहीमा

35
Shares

काठमाडौं । सवारी साधन मोडिफाइ गरी चर्को हर्न बजाउने ६ सय ६७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सुरु गरेको स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्दै सवारी साधन कारबाही अभियानअन्तर्गत ६ सय ६७ वटा मोटरसाइकल कारबाहीमा परेका हुन् ।

महाशाखाका अनुसार अभियानअन्तर्गत मोटरसाइकल र स्कुटरको स्वरूप परिवर्तन गरेर चलाएको, चर्को आवाज निकाल्नका लागि सक्कली साइलेन्सर निकालेर चर्को आवाज दिने साइलेन्सर राखेको, सिट उठाएर अग्लो बनाएको तथा विभिन्न अस्वाभाविक लाइट राखेर चलाइएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ ।

यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसुरमा त्यस्ता सवारी साधनमाथी कारबाही गर्न नियन्त्रणमा लिइएको हो।

उपत्यका ट्राफिक महाशाखाका प्रमुख नवराज अधिकारीका अनुसार स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्दै सवारी नियम उल्लंघन गर्ने चालकमाथि ट्राफिक प्रहरीले गत् असोज ३० गतेदेखि कडाइ गरेको छ । अभियान सुरु भएको १८ दिनमा ६ सय ६७ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। यस्तै, ३७ वटा चारपांग्रे सवारीसाधन पनि कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहोर बनाएर गुड्ने सवारीसाधनलाई समेत नियन्त्रणमा लिन थालेको हो।

कार्यालय प्रमुख नवराज अधिकारी भन्छन्, ‘सडकमा सामान्य मानिस हिँडिसक्नु छैन, जहाँ भिडभाड छ, चर्को आवाजमा हर्न बजाएर, आतंकित पार्ने काम भइरहेको छ। विशेषत १८ देखि ३५ वर्षका युवाहरूले सिट अग्लो बनाउने, ह्यान्डल बांगो बनाउने, अत्यधिक धुवाँ फाल्ने, भुत लाइट भन्दै कलरफुल लाइट जडान गर्ने अनेक किसिमका कार्य गरिरहेका छन्।’

अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ। त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन पाइन्छ। वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन्। यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउछ।

सवारी चलाउनु आवश्यकतासँगै निकै जोखिमपूर्ण कार्य पनि हो। सवारी दुर्घटनाकै कारण वर्षमा हजारौं व्यक्तिको ज्यान जान्छ। हजारौंको संख्यामा घाइते हुन्छन्। सचेत भएर नियम संगत चलाउन आवश्यक भएको कार्यालय प्रमुख अधिकारीको प्रस्टोक्ति थियो।