
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ आयोजना गर्ने भएको छ ।
देशको समग्र आर्थिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिती र आगामी आर्थिक कार्यदिशा तय गर्ने उद्देश्यले महासंघले दोस्रो श्रृंखलाको यो बहस शनिवार आयोजना गर्न लागेको हो ।
महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने छिन् । त्यस्तै अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा लगायत मन्त्रीहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुखहरू, साथै निजी क्षेत्रका संघ–संस्थाका पदाधिकारीहरू समेत सहभागी हुने महासंघले जनाएको छ ।
महासंघका अनुसार यसअघि २०८० सालमा पहिलो पटक ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गरिएको थियो । सो बहसमा प्रस्तुत सुझाव र निष्कर्षका आधारमा यसपटकको दोस्रो श्रृंखलाले नीति, प्रशासन र निजी क्षेत्रबीचको समन्वयलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया