विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो, आम्दानीभन्दा प्रोभिजन बढी हुँदा लुम्बिनी घाटामा

924
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकले ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा राष्ट्रिय स्तरका आठ विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाए हुन् ।

गत आवको सोही अवधिमा भने विकास यी विकास बैंकले चालु आवका भन्दा ४५.२० प्रतिशत बढी अर्थात् १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमो सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो ।

गत वर्षको तुलनामा ४६.५८ प्रतिशत बढी नाफा आर्जन गरेको सांग्रीला विकास बैंकले यस अवधिमा कुल ८ करोड ८२ लाख रुपैयाँ कमाएको छ भने कामना सेवा विकास बैंकले गत आवको पहिलो चैमासको तुलनामा १२.९२ प्रतिशत बढी अर्थात् १९ करोड ७५ लाख ८५ हजार रुपैयाँ कमाएको छ ।

गत आवको पहिलो त्रैमासमा ९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको महालक्ष्मी विकास बैंकले चालु आवको सोही अवधिमा ३.४२ प्रतिशतको वृद्धि गर्दै ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै, पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले ३४ करोड ८५ लाख रुपैयाा नोक्सानीमा रहेको वित्तीय विवरण सावजनिक गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो । ४५ करोड ३८ लाख रुपैयाा खुद ब्याज आम्दानी भएको बैंकले कर्जा ननोक्सानी व्यवस्थामा ७० करोड ८९ लाख रुपैयाा छुट्याएको छ । आम्दनी भन्दा बढी कर्जा नोक्सानी व्यवस्थगा गर्नुपर्दा बैंक नोक्सानीमा गएको देखिन्छ ।

एक वर्षको अवधिमा बैंकको निष्कृय कर्जा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३.६९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात बढेर यस अवधिमा ७.७८ प्रतिशत पुगेको छ । निष्कृय कर्जामा भएको उच्च वृद्धिले बैंकको कर्जा नोक्सानी व्यवस्था पनि बढेको हो ।

सबैभन्दा ठुलो विकास बैंक मुक्तिनाथको पनि नाफा घटेको छ । गत आवको तुलनामा २०.२४ प्रतिशतले खुद नाफा घटेको मुक्तिनाथ विकास बैंकले २२ करोड ४७ लाख रुपैयाँ कमाएको छ ।

गत आवको प्रथम त्रैमासको तुलनामा १५.१७ अंकले नाफा घटेको शाइन रेसुङ्गा विकास बैंकले २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा ज्योति विकास बैंकले ७ करोड ३ लाख रुपैयाँ कमाएको छ जुन गत आवको तुलनामा ५३.४८ प्रतिशतले कम हो ।