चलचित्र ‘परान’: गाउँले परिवेशको कथा र परिवारको आत्मासँग बोल्ने एउटा चलचित्र


म नेपाली चलचित्र हेर्न रुचाउने दर्शक मध्ये एक हुँ । नेपाली चलचित्रको भावनात्मक गहिराइ र सामाजिक यथार्थसँगको सम्बन्धले मलाई सधैं आकर्षित गर्छ । कार्तिक १४ गते शुक्रबार नयाँ नेपाली चलचित्र ‘परान’ देशभर प्रदर्शनमा आएको खबर मैले पहिले नै सुनेको थिएँ । यसको मुख्य स्लोगन ‘हाम्रो जीवन सासले होइन, साथले चल्दो रहेछ’ ले नै मलाई झन् चलचित्र हेर्न उत्साहित बनायो । सोही दिन केही साथीहरू मिलेर नजिकैको एउटा चलचित्र मन्दिरमा पुगेर फिल्म हेर्यौं ।

वरिष्ठ कलाकार नीर शाहले भूमिका निभाएको बुबा धर्मनाथ परम्परागत मूल्य र संस्कारमा अडिग, आफ्नो परिवारप्रति समर्पित पात्र हुन् । नायिका पूजा चन्दले धर्मनाथकी जीवनसाथी दुर्गादेवीको भूमिका निर्वाह गरेकी छन् । दुवैको सम्बन्ध फिल्मको भावनात्मक केन्द्र हो, जसमा मायाको न्यानो पनि छ, जीवनको पीडा पनि ।

धर्मनाथ र दुर्गादेवीका तीन छोरा छन् जसमा जेठो छोरा अस्ट्रेलियामा, दोस्रो छोरा काठमाडौंमा र कान्छो छोरा गोपालनाथ गाउँमै आमाबुबासँग बस्छ । गोपालनाथ कृषि प्राविधिक सहायक (जेटीए)का रूपमा गाउँमा कुखुरापालन गर्छ । साधारण तर आत्मसम्मानयुक्त जीवन बिताउने ऊ बुबा धर्मनाथलाई गर्वको अनुभूति दिलाउँछ । धर्मनाथका लागि गोपालनाथ नै साँचो सास परान हो । तर जब गोपालनाथले छोटो तालिमका लागि विदेश जाने योजना सुनाउँछ, अनि धर्मनाथको संसार नै हल्लिन थाल्छ । उनका लागि सास, साथ र आशा सबै हराउँदै जान्छन् ।

के गोपालनाथ आफ्ना आमाबुबालाई छोडेर विदेश जानेछ त ? कि ऊ माटो र आमाबुबाको मर्म बुझ्दै गाउँमै बस्नेछ ? त्यसको उत्तर दर्शकले आफ्नै आँसु र अनुभूतिको माध्यमबाट थाहा पाउँछन् ।

चलचित्रले देखाएको दृश्य र संवादहरू अत्यन्तै हृदयस्पर्शी छन् । संवादभन्दा पनि मौनता र दृश्यले धेरै कुरा बोल्छन् । धर्मनाथ र उनका मौन सहयोगी मानबहादुर लिम्बु (बुद्धि तामाङ) बीचका दृश्यहरू त्यस्तै छन् सादा, मौन तर गहिरा । हास्य भूमिकाका लागि चिनिएका तामाङले यस पटक मौन अभिनयमार्फत भावनाको सागर बगाएका छन् ।

फिल्ममा नीर शाहको अभिनय सधैं झैं असाधारण छ । वृद्ध बुबाको रूपमा उनको रूपान्तरण गर्विलो भूमिपतिबाट सन्तानको खुशीका लागि सबै त्याग गर्न तयार एक असहाय बुबा अत्यन्तै यथार्थपरक र पीडादायी लाग्छ । उनका आँखामा शब्दभन्दा गहिरा संवादहरू देखिन्छन् ।

त्यस्तै, मदनकृष्ण श्रेष्ठ पनि फिल्ममा धर्मनाथका छिमेकीको रूपमा देखिन्छन् अर्का एक वृद्ध बुबा, जसका छोरा परदेश गएर आफैं एक्ला बाँचिरहेका छन् । उनी आफ्नै मृत्युको मुखमा पुग्दै गर्दा पनि हाँस्दै जीवनसँग कुरा गर्छन्, सन्तानको प्रतीक्षामा आँसु लुकाउँछन् । श्रेष्ठको अभिनय यथार्थ र भावनाको सुन्दर संगम बनेको छ ।

चलचित्रमा हाँसोका क्षणहरू पनि छन्, जसले कथाको गहिराइलाई सन्तुलनमा राख्छ । धर्मनाथले श्रीमतीलाई ‘केटी’ भनेर जिस्क्याउने, सहरका जस्तै सर्ट–पाइन्ट लगाउने प्रयास गर्ने, वा नातिलाई गाउँ फर्काउन खोज्ने दृश्यहरू हृदयस्पर्शी र रमाइला छन् ।

दृश्यात्मक रूपमा पनि चलचित्र अत्यन्त आकर्षक छ । धनकुटाको हरियाली, गाउँको शान्त लय, बिहानको पूजा–संस्कार, तुलसीको परिक्रमा, सहर र गाउँबीचको तीव्र विरोधाभास यी सबैले कथालाई जीवन्त बनाएका छन् ।

अन्ततः, ‘परान’ एउटा साधारण परिवारको कथा होइन यो हजारौं नेपाली आमाबुबाको मौन कथा हो । परदेश गएका सन्तानले बिर्सिएका बुबाआमाको पीडा, माटोसँगको नाता, र ‘साथ’ को गहिरो अर्थ यसले उजागर गर्छ ।

हास्यकलाकारका रूपमा चिनिने दीपक प्रसाद आचार्यले निर्देशकका रूपमा यस फिल्ममार्फत गहिरो, आत्मस्पर्शी र जीवन्त कृति दिएका छन् । परान उनको यस्तो कृति हो जसले दर्शकलाई आफ्नै आमाबुबाको सम्झनामा आँसु झार्न बाध्य पार्छ ।

बाइस्कोप सिनेमा प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई विज्ञापन व्यवसायी रञ्जित आचार्य र स्थापित उद्यमी शेखर गोल्छाले लगानी गरेका छन् । चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, साथै बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगाएतको अभिनय देख्न पाउँछौं ।

दीपक प्रसाद आचार्यको पहिलो निर्देशन चलचित्र ‘परान’ तर पहिलो काम भएर पनि यसले देखाएको गहिराइ, संवेदनशीलता र यथार्थ चित्रण साँच्चै प्रशंसनीय छ । चलचित्रको कथा गाउँको पारिवारिक परिवेशमा आधारित छ । आजको नेपाली समाजमा देखिने एउटा सार्वभौमिक सत्य कुरा परदेशप्रतिको मोह र सहरमुखी जीवनशैलीले सिर्जना गरेको पारिवारिक दूरी यस चलचित्रको केन्द्रीय विषय हो । निर्देशक आचार्यले यो यथार्थलाई हृदय छुने शैलीमा चित्रण गरेको देख्न्न पाइयो ।