
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताएकी छन् ।
निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले असामान्य र चुनौतीपूर्ण परिस्थितिका बीच पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु देशका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिन् । उनले उक्त निर्वाचनले संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्याय सुरु गरेको बताइन् ।
प्रधानमन्त्री कार्कीले ‘जेनजी विद्रोह’ पछिको जटिल अवस्थाका बाबजुद सरकारले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पूरा गरेको उल्लेख गरिन् । उनले सुरक्षाकर्मीका हतियार खोसिएको, राजनीतिक दलहरूबीच संवादहीनता रहेको र समग्रमा कानुनी तथा राजनीतिक शून्यता देखिएको अवस्थामा निर्वाचन गराउनु सहज नभएको स्पष्ट पारिन् ।
उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को नेतृत्वमा निर्वाचन आयोग ले उच्च व्यावसायिकता र दृढताका साथ निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरिन् । प्रधानमन्त्रीले आयोग र सुरक्षा निकायलाई निर्वाचन सफलताको मुख्य श्रेय दिइन् ।

प्रधानमन्त्रीका अनुसार यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनमा नयाँ मानक स्थापित गरेको छ । मतदाता नामावली दर्तालाई निर्वाचन घोषणापछि पनि खुला राखी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको, राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तरआबद्धता गरी प्रक्रिया सहज बनाइएको तथा उपलब्ध सामग्रीको पुनः प्रयोगमार्फत खर्च नियन्त्रण गरिएको उनले बताइन् ।
त्यसैगरी, निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको अनुगमन र आचारसंहिता उल्लंघन रोक्न कडा निगरानी गरिएको उनले उल्लेख गरिन् । सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र विवाद न्यून रहेको पनि उनले दाबी गरिन् ।
प्रधानमन्त्री कार्कीले यस निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको लोकतान्त्रिक छवि थप सुदृढ भएको विश्वास व्यक्त गर्दै सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार प्रकट गरिन् ।
उनले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज तथा विकास साझेदार सबैप्रति धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।








प्रतिक्रिया