
काठमाडौं । बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेनले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । शुक्रबार मध्याह्न १२:३४ बजे शपथ ग्रहणको साइत निकालिएको छ।
शपथ समारोहलाई विशेष धार्मिक विधिसहित सम्पन्न गर्ने तयारी गरिएको छ । कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन् । साथै, १६ जना भिक्षुबाट अष्टमंगल पाठ हुने जनाइएको छ ।
शपथपछि बालेन शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नेछन्।
यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो ।
बालेनको शपथकै दिन केही मन्त्रीहरूको पनि शपथको तयारी गरिएको छ ।








प्रतिक्रिया