पोखरा सहकारीको ८९ करोड अपचलन आरोपमा अध्यक्षसहित ७ पक्राउ

322
Shares

काठमाडौं । कास्कीको पोखरामा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा सहकारीका अध्यक्ष र प्रबन्धकसहित ७ जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनको आधारमा सहकारीको करिब ८८ करोड ७० लाख रुपैयाँ रकम अपचलन भएको भन्दै अनुसन्धानका लागि गएको जेठमै प्रहरीमा पत्राचार गरिएको थियो।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सहकारीका सञ्चालक समिति र पूर्व पदाधिकारीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाएको छ । सहकारीको रकम व्यवस्थापक, कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा हिनामिनामा परेको सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनले देखाएको थियो।

सहकारी बचत रकम अपचलनमा संलग्नहरुलाई आवश्यक पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको र जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सहकारी रजिस्टारको कार्यालयले गत जेठमा गरेको अध्ययनले सहकारीको रकम अपचलन गरी व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको निष्कर्ष निकालेको थियो । सहकारीका बहालवाला र पूर्व पदाधिकारीहरूले कृत्रिम ऋण र पेश्की खाताहरू खोलेर रकम निकाल्ने, सहकारी ऐन र मूल्य मान्यताबिपरीत हिनामिना गर्ने, र सदस्य तथा ऋणीलाई ठगी गरी अवैध लाभ उठाउने गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख थियो।

प्रतिवेदनले उक्त घटनालाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाका रूपमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही प्रतिवेदनको आधारमा गत जेठमै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको थियो।