
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ पाएको छ । यो रेटिङ पाउने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रकै पहिलो कम्पनी हो ।
सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आएको छ । आव २०८१÷८२ मा कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गरेको छ । कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४% लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२% प्रतिफल प्रदान गरेको छ ।
आ.व. २०८०÷८१ मा कम्पनीले २.१२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने सेयरधनी कोषमा १८% प्रतिफल थियो ।
नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पुनर्बीमा गरेको छ । यो रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गरेको कम्पनीको दाबी छ ।
कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित छ । गत आवको अन्त्यसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ । कम्पनीको २३३ अर्ब भन्दा माथिको जीवन बीमा कोष र २४० अर्ब भन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ ।







प्रतिक्रिया