डेडिकेटेड ट्रंकलाइन विवादः ५ अर्ब ६४ करोड बक्यौता रहेको प्राधिकरणको दाबी, कसको कति?

693
Shares

काठमाडौं । डेडिकेटड ट्रंकलाइन विवादमा उद्योगीले ५ अर्ब ६४ करोड रुपैयाँ तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार अद्यावधिक विवरणअनुसार उद्योगीले डेडिकेटड ट्रंकलाइन विद्युत उपभोग गरेवापत प्रिमियम तिर्नुपर्ने बाँकी रकम जरिवानासहित ५ अर्ब ६४ करोड ५७ लाख २० हजार रुपैयाँ पुगेको हो ।

डेडिकेटड ट्रंकलाइन विद्युत चलाइरहेको उद्योगहरुले त्यतिबेला नियमित महसुल तिरिरहेका थिए । पछि २०७५ चैतमा प्राधिकरणले बिल बनाउन छुटेको भन्दै प्रिमियममात्रको नयाँ बिल (एक पन्ने चिठी) पठाएको थियो । तर, उद्योगीहरुले प्रमाण पाएपछि मात्र तिर्ने भनेर नयाँ बिलको पैसा तिरेका थिएनन् ।

यता प्राधिकरणले भने बक्यौता भनेर राख्यो, महिनैपिच्छे जरिवाना र ब्याज जोड्दै गयो ।

यसबीच विवाद चर्किएपछि केही उद्योगले डराएर बक्यौता तिरे पनि २५ उद्योगले भने तिरेका छैनन् । ‘तिर्नुनपर्ने पैसा किन तिर्ने’ भन्दा भन्दै बक्यौता करिब ६ अर्ब रुपैयाँ पुगेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै तिर्न बाँकी जगदम्बा स्टिल प्रालिको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ पुगेको छ । यसैगरी रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ६६ करोड ८९ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ र अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ । अरु ५ उद्योगले १० करोडभन्दा बढी, ३ उद्योगले ५ करोडभन्दा बढी, ६ उद्योगले १ करोडभन्दा बढी र बाँकीले १ करोडभन्दा कम तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले बक्यौता बाँकी रहेको भनिएका केही उद्योग हाल सञ्चालनमा छैन ।

बक्यौता बाँकी रहेका उद्योगहरुको २०८२ असोज मसान्तसम्मको विवरण ।

के हो डेडिकेटेड ट्रंकलाइन विवाद ?

डेडिकेटेड ट्रंकलाइन विवादलाई बुझ्न ३ समयअवधिलाई बुझ्नुपर्ने हुन्छ ।

पहिलो, डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत महसुल निर्धारण भइनसकेको अवधि । अर्थात् २०७२ साउनदेखि २०७२ पुससम्म ।

दोस्रो, डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत महसुल निर्धारण भइसकेको र लोडसेडिङ अन्त्य हुनुअघिको अवधि । अर्थात् २०७२ माघदेखि २०७५ वैशाखसम्म ।

र तेस्रो, लोडसेडिङ अन्त्य भएपछि प्रिमियम महसुलको विषय खारेज हुञ्जेलसम्मको अवधि । अर्थात् २०७५ जेठदेखि २०७७ असारसम्म ।

अहिलेको विवाद दोस्रो अवधिको हो । पहिलो र तेस्रोमा छैन । पहिलोमा महसुल निर्धारण भइसकेको थिएन । तेस्रोमा लोडसेडिङ अन्त्य भइसकेको थियो । दुवैमा विवाद हुने कुरै भएन । दोस्रोमा भएको विवाद प्रिमियको विषयमा हो । नियमित महसुल त उद्योगीहरुले उहिल्यै तिरिसकेका थिए ।

आम मानिसहरुले यो विवादलाई उद्योगीले प्राधिकरणलाई विद्युत् महसुल नतिरेको रुपमा बुझ्ने गर्छन् । उनीहरूले विद्युत् महसुल नतिरेका होइनन् । प्रिमियम नतिरेका मात्र हुन् ।

प्राधिकरणले उद्योगलाई नियमित बिल जारी गर्यो । उद्योगीले निर्धारित समयभित्र बिल बुझाउँदा प्राप्त हुने २ प्रतिशत छुट लिँदै महसुल तिरे ।

प्राधिकरणले २०७५ चैतमा मात्रै छुटेको प्रिमियम महसुल तिर्न चिठी पठाएको हो । त्यसपछि उब्जिएको हो, यो विवाद ।

कुलमानले २०७५ चैतमा पठाएको छुट महसुल तिर्ने पत्रमा ‘डेडिकेटेड फिडरअनुसार बिलिङ हुनुपर्नेमा नियमित फिडरअनुसार बिलिङ भइरहेको हुँदा छुट हुन आएको रकम तिर्न’ उल्लेख थियो ।

बिजुलीको पैसा तिरिसक्यौं भनेर ढुक्क भइ बसेका उद्योगीलाई सो पत्रले चकित बनायो ।

यो समस्या धेरै नै गिजोलियो । पक्षविपक्षमा धेरै उत्रिए ।

उद्योगीहरु आफूले तिर्नै नपर्ने महसुल किन तिर्ने भनेर हात बाँधेर बसिरहे । उता नेविप्रा र तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ छुट रकमलाई आम्दानी मानी सरकारलाई करसमेत बुझाएर खातामा नाफा लेखेर बसिरहे ।

उद्योगीहरु ६ घण्टा लोडसेडिङ भएको र आफूले २० घण्टा बिजुली प्रयोग गरेको प्रमाण मागिरहे । ‘यदी ६ घण्टा लोडसेडिङ र २० घण्टा बिजुली चलाएको भए हामी प्रिमियम तिर्छौं’ भनिरहे ।

उता कुलमान ‘६ घण्टा लोडसेडिङ भए पनि नभए पनि २० घण्टा बिजुली चलाएको होस् वा नहोस् अतिरित्त महसुल त तिर्नैपर्छ’ भन्ने अड्डी कसिरहे ।

कुलमानको यो अडानले उद्योगी बदनाम भए । कुलमान सार्वजनिक मञ्चमै उद्योगीलाई ‘जनता लाडसेडिङमा बस्नुपर्दा बत्ति बालेर नाफा कुम्ल्याउने नाफाखोर’ पनि भन्थे । आम सर्वसाधारण माझ पनि यही भाष्य बनिरह्यो ।

उद्योगीले किन मागे ६ घण्टा लोडसेडिङ भएको र आफूले २० घण्टा बिजुली प्रयोग गरेको प्रमाण ?

जनता १८ घण्टासम्म लोडसेडिङमा बस्ने गरेको बेला प्राधिकरणले एउटा स्किम ल्याएको थियो । त्यो थियो, उद्योगले आवश्यकताअनुसार विद्युत पाउन सक्नेछन् तर उनीहरुले अतिरिक्त ६० प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने ।

यस्तो सुविधा लिन ती उद्योगले प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनका लागि निवेदन दिनु पर्दथ्यो ।

डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोगकर्ताले तिर्ने प्रिमियमबारे तत्कालीन विद्युत महसुल निर्धारण आयोगको दुईवटा बैठक एकदमै महत्त्वपूर्ण छ । ती हुन्, बैठक नम्बर १०३ र १०८ ।

त्यो भन्दा पहिले डेडिकेटेड र ट्रंकलाइन भनेको के हो ? बुझौं ।

‘डेडिकेटेड फिडर’ भनेको विद्युतको सबस्टेसनबाट छुट्टै तार ल्याएर कुनै ग्राहकलाई विद्युत् आपूर्ति गर्नु हो । यस्तो फिडरमा लोडसेडिङका बेला पनि निरन्तर विद्युत् आपूर्ति गर्ने सुविधा हुन्थ्यो । एउटा लाइनबाट लोडसेडिङ हुँदा अर्कोबाट विद्युत् आपूर्ति गर्न सकिन्छ । ‘ट्रंक लाइन’ चाहिँ चौबीसै घण्टा बिजुली आउने प्रसारण लाइनबाट उद्योगमा तार तानेर उद्योगभित्र नै ट्रान्सर्फमर राखेर बिजुली दिइने सेवा हो ।

विद्युत महसुल निर्धारण आयोगले २०७२ पुस २९ गते डेडिकेटेड प्रणालीबाट निरन्तर विद्युत आपुर्ति लिएका ग्राहकबाट प्रिमियम महसुल लिन मिल्ने गरी स्विकृति दिएको थियो । अर्थात् प्राधिकरणले उद्योगीलाई २४ सै घण्टा विद्युत उपलब्ध गराएको छ भने प्रिमियम महसुल लगाउन सक्छ ।

यसैगरी आयोगको २०७३ असार १६ गते बसेको आयोगको १०८ औं बैठकले देशमा ६ घण्टा वा सोभन्दा बढी लोडसेडिङ कायम भएको अवस्थामा २० घण्टा वा सोभन्दा बढी समय ट्रंकलाइनबाट निरन्तर बिजुली चलाउने कुनै उद्योगलाई डेडिकेटेड ग्राहक सरह प्रिमियम महसुल उठाउने सहमति प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले २०७२ असार १२ गते डेडिकेडेड फिडरबाट निरन्तर बिजुली आपूर्ति सेवा लिने ग्राहकलाई साउन १ गतेबाट अतिरिक्त शुल्क लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्राधिकरणले टाइम अफ डे अर्थात् टीओडी मिटर (दिनको कुन समयमा कति बिजुली चलाएको छ भन्ने प्रमाण दिने मिटर) का आधारमा व्यवसायीसँग शुल्क लिन सक्छ ।

विवाद सोही मितिदेखि २०७५ वैशाखसम्मको अर्थात् औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भएको दिनसम्मको हो ।

एकैचोटी २०७५ चैतमा अर्थात् लोडसेडिङ अन्त्य भएको ११ महिनापछि एउटा खेस्रो चिठी काटेर प्राधिकरणले प्रिमियम शुल्क तिर्नु भन्यो । तर, सो मितिमा टीओडी मिटरको प्रमाण (दिनमा कति घण्टा बिजुली चलाएको) दिन सकेन । पछि प्राधिकरणले टीओडी मिटरको लगसिट प्रतिनिधिसभाको संसदीय समितिलाई बुझाएको थियो । तर, सो लगसिटले उद्योगीले प्रिमियम तिर्नैपर्ने गरी प्रमाण दिन सकेन ।

उद्योगीहरूले अहिले राखेको अडान पनि यही हो कि ‘प्राधिकरणले आयोगको निर्णयअनुसार दैनिक ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको र आफूले २० घण्टाभन्दा बढी बिजुली चलाएको प्रमाण देओस्, हामी प्रिमियम तिर्छौं ।’

विद्युत महशुल निर्धारण आयोगले २०७२ पुस २९ गते सरकारी अस्पताल बाहेक डेडिकेटेड प्रणालीबाट निरन्तर विद्युत आपुर्ति लिएका ग्राहकबाट प्रिमियम महसुल लिन मिल्ने गरि दिएको स्विकृति ।
विद्युत महसुल निर्धारण आयोगले २०७३ असार १६ गते ट्रंक लाइनबाट विद्युत आपुर्ति लिएका ग्राहकबाट प्रिमियम महसुल लिँदा तोकेको सर्त ।

उद्योगलाई प्रिमियम महसुल तिर्न भन्दै प्राधिकरणले ३ वर्षपछि जारी गरेको अवैध चिठी ।

डेडिकेटेड र ट्रंकलाइनमा विद्युतको निरन्तर आपुर्ति भनेको के हो ? भन्ने ब्याख्या ।