सुनको विकल्प बन्दै चाँदी, भन्न थालियोः सिल्भर इज द न्यु गोल्ड


काठमाडौं । विश्व बजारमा अहिले ‘सिल्भर इज द न्यु गोल्ड’ भन्ने भनाई चर्चामा छ । सुन महँगिएपछि अर्थतन्त्रका जानकारदेखि लगानीकर्तासम्मको नजर यतिबेला चाँदीतर्फ केन्द्रित भइरहेको छ ।

चाँदीमा आकर्षण बढ्नु पछाडि थुप्रै कारण छ । यो आलेखमा हामी सुनको विकल्प चाँदी कसरी बन्दै छ भन्ने चर्चा गर्नेछौं ।

मंगलबारमात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतले घटेर प्रति ट्रोय औंस ४ हजार १२० अमेरिकी डलर कायम भयो । यो गिरावट सन् २०१३ यताकै एकैदिनमा भएको सर्वाधिक मूल्य गिरावट हो । सुनसँगै चाँदीको भाउ पनि यसरी नै घटेको छ । यसको प्रभाव नेपाली बजारमा पनि देखिने पक्का छ ।

केही दिनयता सामाजिक सञ्जालमा चाँदीका ढिक्का किनेर घरमा राखेको पोस्टहरु देखिन थालेका छन् । एकपछि अर्को गर्दै चाँदी किनेको भिडियो बनाएर अरुलाई पनि किन्न उक्साइरहेकाहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।

नेपाल मात्र होइन अहिले विश्व बजारमै ‘सुनको सस्तो विकल्प’ भनेर चाँदीलाई लिइने गरेको छ । यसरी हेर्दा भविष्यमा सुनको पछाडि चाँदीले लगानीकर्तालाई लाभ दिन सक्ने अनुमान गर्न सकिन्छ ।

बहुमूल्य धातुको रूपमा सुनले लामो समयसम्म राज गर्यो । तर पछिल्लो समय चाँदीले आफ्नो बर्चस्व बनाउदै गएको छ । चाँदी लामो समयसम्म सुनको छायाँमा रह्यो । सुनलाई सधैं सुरक्षित लगानीको रूपमा लिइयो तर चाँदीलाई सुलभ र उपयोगीको रुपमा ।

तर पछिल्लो समय चाँदीको मूल्य पनि नयाँ उचाइतर्फ जाँदैछ । चाँदीको मूल्य वृद्धि सँगै यसको प्रयोग, माग पनि अत्याधिक हुन थालेको छ । चाँदी क्रमशः आफ्नो पुरानो पहिचानबाट बाहिर निस्कँदै छ ।

हाल विश्व बजारमा एक ट्रोय औंस चाँदीको मूल्य करिब ४९ अमेरिकी डलर छ । जुन नेपाली रुपैयाँमा लगभग  ७ हजार बराबर हो । यो मूल्य दिन प्रतिदन बढिरहेको छ ।

पछिल्लो १ महिनाकै तथ्याङ्क हेर्ने हो भने विश्व बजारमा चाँदीको मूल्य निरन्तर उकालो लाग्दो क्रममा छ ।

२२ सेप्टेम्बर २०२५ मा चाँदीको मूल्य प्रति औंस ४४.०८० डलर थियो । त्यसको ठिक एक हप्ता पछि अक्टोबर १ मा चाँदीको मूल्य बढेर प्रति औंस ४७.२२७ डलर पुग्यो । जुन नेपाली ६ हजार ६ सय रुपैयाँ भन्दा बढी पर्न आउँछ । १ औंसमा लगभग लगभग ३१.१ ग्राम चाँदी हुन्छ ।

अक्टोबर १ मा प्रति औंस ४७ डलर रहेको चाँदीको भाउ अक्टोबर १ मा आईपुग्दा प्रति औंस १३ डलर पुग्यो । सबैभन्दा बढी अक्टोबर १७ मा ५४ डलरसम्म पुगेको चाँदी केही दिन यता भने केही मात्रामा घटेको छ । १ महिनामै चाँदीको मूल्य १० डलरले वृद्धी भएको छ । विश्लेषकहरूले यो अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

चाँदीको आपूर्ति कम र माग उच्च भएका कारण आगामी महिनाहरूमा बजारमा मूल्य चुलिन सक्ने आकलन गरिएको छ ।

चाँदीको माग किन बढ्दैछ ?
एकातर्फ विश्वले हरित प्रविधिमा लगानी बढाउँदै गएको छ । जसअन्तर्गत सोलार प्यानल, ब्याट्री, इलेक्ट्रोनिक्स र स्वास्थ्य उपकरण लगायत पर्छन् । यी उपकरणमा चाँदीको प्रयोग हुने गर्दछ ।

विशेषगरी सौर्य ऊर्जा उद्योगले मात्र वार्षिक रूपमा विश्व उत्पादनको करिब २५ प्रतिशत चाँदी प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।

चाँदीको प्रयोगले ऊर्जा ह्रास घटाउने र प्रवाहलाई प्रभावकारी बनाउने भएका कारण चाँदी सबै धातुहरुभन्दा सर्वश्रेष्ठ विद्युत सुचालक मानिन्छ । यही कारण, सोलार प्यानल, विद्युतीय सवारी, स्मार्ट ग्रिड जस्ता प्रविधिमा चाँदीको प्रयोग अपरिहार्य छ ।

सोला प्यानलको फोटो भोल्टाइक सेलमा प्रयोग हुने सिल्भर पेस्टले सूर्यको किरणलाई बिजुलीमा रूपान्तरण गर्न मद्दत गर्छ । जसलाई यसको माग पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्नुको एउटा कारणका रुपमा लिन सकिन्छ ।

औधोगिक उपकरणमा चाँदीको प्रयागले मात्रै चाँदीको माग बढेको होइन । केही समययता व्यक्तिगत प्रयोगका लागि पनि चाँदीको माग बढ्दै गएको छ । राम्रा गहना, भाडाकुँडा बनाउन सकिने र भविष्यमा पनि बेचेर राम्रो मुनाफा गर्न सकिने भएकाले यसमा मानिसले लगानी गर्न थालेका छन् ।

नेपालमा चाँदीप्रति आर्कषण बढ्दै
सुनको तुलनामा सस्तो र सजिलै पाइने भएकाले नेपाली बजारमा सामान्य लगानीकर्ताको आकर्षण पनि चाँदीतर्फ बढ्दै गएको छ । विषेशगरी सुनसँगै चाँदीको मूल्य पनि तीब्र गतिमा बढिरहेकाले सुनको मूल्य अत्यधिक उच्च हुँदा धेरैले चाँदीलाई विकल्पका रूपमा रोज्न थालेका छन् । चाँदी किनेर आफ्नो ढुकुटीमा राख्न थालेका छन् ।

चाँदीको मूल्य यही रफ्तारमा बढिरहने हो भने सुन जस्तै बहुमूल्य धातुको रूपमा चाँदीले पनि स्थान नपाउला भन्न सकिँदैन ।

सडकदेखि सञ्जालसम्म यतिबेला चाँदीको यही चर्र्चा छ । सामाजिक सञ्जालमा ‘चाँदी किनेर सुरक्षित राख्नुहोस्’ भन्दै राखिएका पोस्टहरु देखिन थालेका छन् । सुन पसलमा सुन भन्दा बढी चाँदी किन्नेको लर्को छ । ढिक्काका ढिक्का चाँदी किनेर भविष्यका लागि सुरक्षित गर्र्न थालेका छन् ।

दिन प्रतिदिन बढिरहेको चाँदीको मूल्यका कारण पनि नेपालीहरु बेलैमा चाँदी किनेर सुरक्षित राख्न तर्फ केन्द्रित भएका छन् ।

नेपालमा पछिल्लो एक महिनाकै तथ्याङ्क हेर्दा चाँदीको मूल्य १ हजारले वृद्धि भएको छ । असोज १ गते नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २५ सय ५० रुपैयाँ थियो । तर असोज ३१ गते आईपुग्दा चाँदीको मूल्य बढेर प्रतितोला ३३ सय ५० रुपैयाँ पुग्यो ।

नेपाली परम्परामा समेत चाँदीलाई शुभ मानिन्छ । नवजात शिशुलाई चाँदीको गहना दिनेदेखि लगेर देवीदेवतामा चाँदीका भाँडाकुँडा चढाउनका लागि समेत चाँदीको प्रयोग गरिन्छ ।

तर पछिल्लो समय भने गहनाको लागि मात्र नभएर लगानीका लागि पनि चाँदीको प्रयोग बढ्दो छ । कात्तिक १ गते धनतेरसका दिन मात्रै नेपालीहरले १ हजार ५ सय किलो चाँदी खरिद गरेका छन् । उक्त दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ कायम भएको थियो । सोही दिन सुन पनि ८० किलो बिक्री भएको छ । सुनको मूल्य त्यस दिन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।