
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कहिल्यै एकमना एकताको स्थिति नरहेको र देश अहिले प्रतिक्रान्तितर्फ तथा बर्बादीतर्फ धकेलिएको बताएका छन् ।
बुधबार ललितपुरमा दशौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पार्टीभित्र सधैं इर्ष्या, डाहा र खुट्टा तान्ने प्रवृत्ति चलेको बताए । ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन । इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो । मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो,’ ओलीले भने ।
ओलीले जेन–जीको दुई दिने आन्दोलनका कारण यसपटक प्रधानमन्त्रीको पद छाड्न बाध्य हुनुपरेको र संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको बताए।
उनले आफ्नो नेतृत्वको सरकारले इतिहाससम्म पुग्ने दूरगामी कामहरू गरेपछि नै सरकार ढाल्ने काम भएको दाबी गरे । त्यसैगरी ओलीले एमालेमाथि भइरहेका आक्रमण र आलोचनालाई राष्ट्रिय स्वाभिमान र सीमाको सवाल उठाउने अडानबाट देखिएको प्रतिशोधको रूपमा व्याख्या गरे । ‘अरुभन्दा बढी प्रहारको निशाना भएका छौँ,’ उनले भने, ‘हामीले नराम्रो काम गरेका हौं र नीति नराम्रो भएकाले प्रहार भएको हो ? होइन — हाम्रो नीति राम्रो भएकाले हो । अरुले सिमाना, स्वाधीनताका कुरा बोल्न नपर्ने? एमालेले मात्रै किन बोल्नुपर्छ?’








प्रतिक्रिया