अर्थमन्त्रीले जाइकासँग गरे बीपी राजमार्ग पुनर्निर्माण, नागढुंगा सुरूङ र कोटेश्वर फ्लाइओभरको कुरा

455
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालका तीन महत्वपूर्ण सडक खण्डको निर्माण कार्य अघि बढाउने बिषयमा जापान सहयोग नियोग जाइकासँग छलफल गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री खनालले बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरूङमार्गको काम सक्न र कोटेश्वरमा अन्डर पास सेक्सन निर्माण गर्ने बिषयलाई अघि बढाउने बिषयमा जाइकाका प्रतिनिधीसँग छलफल गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका खनालले जाइकाका प्रतिनिधिसँग छुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

जापान सरकारको सहयोगमा बनेको बीपी राजमार्ग गत वर्ष र यो वर्षको बाढीले ध्वस्त बनाएको छ । साथै राजधानी प्रवेशद्वार नागढुङ्गामा बन्दै गरेको सुरुङमार्गलाई पनि चाँडै सक्न खनालले आग्रह गरेका ।

यस्तै जापान सरकारको ३० अर्ब रूपैयाँको ऋण सहयोगमा निर्माण गर्ने भनिएको कोटेश्वर अन्डरपास सेक्सनलाई पनि छिटो अगाडि बढाउन जाइका प्रतिनिधीसँग आग्रह गरेका छन् ।

काठमाडौंको कोटेश्वर अन्डरपास २०९० साल भदौ १५ भित्र सम्पन्न हुने भनिएको छ । करिब ३० अर्ब रुपैयाँ जापानी ऋण सहयोगमा बन्ने यो परियोजनाको लागि सेप्टेम्बरमा ऋण सम्झौता हुने भनिए पनि भएको छैन । ऋण सम्झौता हुन बाँकी रहेको सडक विभागले जनाएको छ ।

आगामी वर्ष चैतसम्ममा डीपीआर र ईआईए सम्पन्न गरिनेछ भने २०२८ अप्रिलमा ठेक्का सम्झौता भई ५२ महिनामा निर्माण कार्य सकिने सडक विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थल क्षेत्रभित्र सुरुङसहित तीनकुनेदेखि मनोहरा क्षेत्रसम्म फ्लाइओभर निर्माण गरिनेछ । हाल जाइकाले प्रारम्भिक सर्वेक्षण गरिसकेको छ ।

सुरुङमार्ग सहितको यो फ्लाईओभर निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययन २०७६ सालमै जापान सहयोग नियोग जाइकाले गरेको थियो । जाइकाले गरेको पूर्व सम्भाव्यता अध्ययनअनुसार यो योजना सम्पन्न गर्न करिब ३४ अर्ब नेपाली रुपैयाँ लागत लाग्ने खर्च तत्कालीन समयमा निकालिएको थियो ।

जाइकाले नै तीनवटा प्राविधिक विकल्पसहितको सुझाव उक्त पूर्व सम्भाव्यता अध्ययनमार्फत सरकारलाई उपलब्ध गराएको थियो । त्यसपछि सन् २०२४ को जनवरीमा पुनः अर्को अध्ययन गरी जाइकाले उन्नत संस्करणमा अन्तिम प्रारम्भिक रिर्पोट तयार पारेको थियो ।

यस्तै गत वर्ष र यो वर्षको असोजमा आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्गको एउटा खण्ड जाइकाले निर्माण गरिदिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बाढी पहिरोका कारण बिपी राजमार्गको २८ किलोमिटर खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

क्षतिग्रस्त ५ खण्डमध्ये तीन खण्डको सरकारले आफ्नै लगानीमा निर्माण गर्न ठेक्का सम्झौता गरिसकेको छ भने एक खण्डको ठेक्का आह्वान भएर सम्झौता हुन बाँकी छ । बाँकी एक खण्डको निर्माण जाइकाले गर्ने भएको हो ।

विभागका अनुसार चारसयबेशी–भकुण्डेबेशी, डालाबेशी–चारसयबेशी र नेपालथोक–बर्खेखोला खण्डको निर्माण गर्न ठेक्का लागिसकेको छ ।

यसबाहेक साढे ५ किलोमिटर खण्डको ठेक्का लाग्न बाँकी छ । ठेक्का लगाउन बाँकी रहेको साढे ५ किलोमिटर दूरीको बर्खेखोला–डल्लाबेशी खण्ड भगौलिक दृष्टिकोणले निक्कै जटिल र खर्चिलो भएकाले त्यो खण्डलाई सरकारले दुई टुक्रा पारेर एक खण्डको आफ्नै लगानीमा निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

जसअनुसार ३.२ किलोमिटर दूरीको बर्खेखोला–पिप्ले खण्ड र अर्को २.३ किलोमिटर दूरी भएको पिप्ले–डालाबेशी गरी दुई वटा खण्ड बनाइएको छ । यसमध्ये २.३ किलोमिटर दूरकिो पिप्ले–डालाबेशी खण्डमा सरकारले आफ्नै लगानीमा निर्माण गर्न ठेक्का आह्वान गरिसकेको छ । सम्झौता हुन बाँकी छ ।

बाँकी रहेको ३.२ किलोमिटर दूरी भएको बर्खेखोला–पिप्ले खण्डको निर्माण गर्ने जिम्मा जाइकालाई दिइएको हो । जाइकाले उक्त खण्ड निर्माण गर्नका लागि साकारात्मक भएर अनुदानमा २ अर्ब ८० करोड जापनिज ऐन (२ अर्ब ५९ करोड नेपाली रुपैयाँ) उपलब्ध गराउन सैद्धान्तिक सहमति मन्त्रालयलाई उपलब्ध गराइसकेको छ ।

यसैगरी सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले नागढुंगा सुरुङमार्गको निर्माण कार्य सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब रूपैयाँ छ ।

जापानको हाजमा एन्डो कर्पोरेसनले ठेक्का पाएको यो आयोजनाको निर्माण कार्य सकेर आवश्यक सञ्चालन प्रक्रिया सम्पन्न गरी आगामी पुसदेखि खुला गर्ने तयारी छ ।