सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएको टिप्पणीमा सेनाको ध्यानाकर्षण

511
Shares

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्नो भूमिकाबारे उठेका प्रश्नहरूलाई अस्वीकृत गर्दै शान्ति सुरक्षामाथि अनावश्यक शंका नगर्न आग्रह गरेको छ।

आन्दोलनका बेला राष्ट्रिय सम्पत्तिमा आगजनी हुँदा पनि सेनाले सक्रिय भूमिका नखेलेको भन्ने जनस्तरका आलोचनापछि सेनाले आज एक सूचना जारी गर्दै आफ्ना गतिविधि र उद्देश्यप्रति भ्रम नफैलाउन अपिल गरेको हो।

सेनाले हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वसँग जोडेर अनेक प्रकारका टिप्पणी र अभिव्यक्तिहरू प्रसारित भइरहेकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जंगी अड्डाका अनुसार, आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित असरलाई वस्तुपरक रूपमा मूल्याङ्कन गर्दै छिटोभन्दा छिटो शान्ति र स्थायित्व कायम गर्न नेपाली सेनाले आवश्यक पहल र जिम्मेवारी बहन गरेको छ।

सूचनामा भनिएको छ, “भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने क्रममा नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे विद्वत् वर्ग, समाजसेवी, सञ्चारकर्मी र आम नागरिकबाट आएका राय, सुझाव र समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्त गर्दछौं। सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने प्रभावलाई गम्भीरतापूर्वक मूल्याङ्कन गरी शान्ति सुरक्षाको स्थायित्वका लागि आवश्यक पहल लिएको जानकारी गराउन चाहन्छौं।”

सेनाले आफ्ना गतिविधि र आधिकारिक धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट गरेको छ। साथै, सेनासम्बन्धी यथार्थपरक जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।