सरकारसँग ‘भिड्ने मुड’मा महेश बस्नेत, मोटरसाइकल र्‍याली रोकेको भन्दै आक्रोशित

1.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले युवा संघद्वारा आयोजित मोटरसाइकल र्‍याली रोक्न खोजेको भन्दै प्रतिरोधको चुनौती दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले शनिवारका लागि र्‍याली लगायतका कार्यमा अनुमति नदिने भन्दै रोक लगाएपछि बस्नेत क्रुध्द बनेका हुन् ।

‘विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बस्नेतले लोकतन्त्रमा प्रतिबन्ध नभइ आवाज सुन्ने संस्कार चाहिने बताए । सरकारले जनताको आवाज रोक्ने प्रयास गरेको भन्दै बस्नेतले यो लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन् ।

‘भोलि असोज २५ गते शनिबार हुने भनिएको युवा संघ नेपालको मोटरसाइकल र्‍याली, स्वीकृति विना कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ । शान्तिपूर्ण कार्यक्रम रोक्न गृह मन्त्रालयले अधिकार दुरुपयोग गरेर जिल्ला प्रशासनमार्फत जनताको आवाज रोक्ने प्रयास गरिएको विषय गम्भीर लोकतन्त्र माथिको प्रहार हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘आन्दोलनका घटनालाई बहाना बनाएर जनताको अभिव्यक्तिको अधिकारमाथि लगाइएको प्रतिबन्ध लोकतन्त्र, विधिको शासन र जनसत्तामाथिको सीधा प्रहार हो,’ उनले भनेका छन्, ‘सरकार जनताको आवाजसँग डराएको छ। नेकपा (एमाले) र युवा संगठनले यसलाई गम्भीरतापूर्वक लिएको छ ।’

संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि तयार रहनु पर्ने भन्दै उनले भोलिको र्‍याली नरोक्ने संकेत गरेका छन्।

‘आवश्यक परे संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि तयार सबै जना तयार हुनुपर्छ,’ बस्नेतले भनेका छन् ।