
एजेन्सी । पाकिस्तानका गृहमन्त्री तथा त्यहाँको क्रिकेट बोर्डका प्रमुख मोहसिन नकवीलाई सरकारले शहीद जुल्फिकर अली भुट्टो एक्सिलेन्स गोल्ड मेडल दिने भएको छ ।
नकवी एसियन क्रिकेट काउन्सिल (एसीसी) का पनि अध्यक्ष हुन् । उनले एसिया कपको फाइनलमा भारतलाई ट्रफी दिन खोज्दा भारतले अस्वीकार गरेकोमा साहसी अडान लिएको भन्दै पुरस्कृत गरिएको हो ।
नकवीको कदमले पाकिस्तानको राष्ट्रिय गौरव पुनःस्थापना गरेको भन्दै सिन्ध तथा कराँची बास्केटबल एसोसिएसनका अध्यक्ष गुलाम अब्बास जमालले बताए ।
एसिया कप जितेपछि भारतीय क्रिकेट टिमले नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो । त्यसलाई राजनीतिक अभिव्यक्तिका रूपमा अर्थ्याइएको थियो ।
भारतले ट्रफी नलिएपछि नकवीले त्यो आफैंसँग राखेका थिए । भारतीय टिमले चाहेमा एसीसीको केन्द्रीय कार्यालयबाट ट्रफी लिन सक्ने भनी नकवीले सामाजिक सञ्जालमा लेखेका थिए ।
आफूले गलत काम नगरेको र बीसीसीआईसँग माफी नमाग्ने नकवीको अडान छ । भारतको क्रिकेट बोर्ड बीसीसीआईले नकवीको कार्यप्रति आपत्ति जनाएको खबर आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नकवीलाई सम्मान गर्ने सरकारको निर्णयलाई पाकिस्तानी राजनीतिकर्मी र खेलाडीहरूले स्वागत गरेका छन् । यसले राष्ट्रिय गौरव र देशको सम्मानलाई प्रतिनिधित्व गरेको उनीहरूको भनाइ छ ।
कराँचीमा नकवीलाई औपचारिक समारोह आयोजना गरेर सम्मान गरिने भएको छ । पीपीपी दलका अध्यक्ष बिलावल भुट्टो जरदारीलाई प्रमुख अतिथिका रूपमा समारोहमा बोलाइनेछ ।
एसिया कप भारत र पाकिस्तानबीचको राजनीतिक तनावको छायाँमा परेको थियो । भारतले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने नीति लिएको थियो । भारतीय खेलाडीहरूले एसिया कप जितेपछि पाकिस्तानी नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेका थिए ।








प्रतिक्रिया