विश्वकै अग्लो पुलबाट गाडी चल्न थाले

315
Shares

एजेन्सी । दक्षिणपश्चिम चीनको क्विचाउ प्रान्तमा बनेको विश्वको सबैभन्दा अग्लो पुल सार्वजनिक यातायातका लागि खुलेको छ । तीन वर्ष लगाएर बनाइएको पुल केही समयअघि भार परीक्षण गरिएकामा अबदेखि सर्वसाधारणका लागि पनि खुलेको हो ।

पुल बनेपछि गहिरो घाटी पार गर्ने यात्रा समय दुई घण्टाबाट घटेर केवल दुई मिनेटमा सीमित भएको छ । क्विचाउको पहाडी भूभागमा बेइपान नदीभन्दा ६२५ मिटर माथि रहेको ह्वाच्याङ ग्रान्ड क्यानन पुल सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजभन्दा लगभग नौ गुणा अग्लो छ । क्विचाउ प्रान्तीय अधिकारीका अनुसार पुलमा १ हजार ४ सय २० मिटरको मुख्य स्प्यानको छ ।

यो परियोजना पहाडी भूभागमा विश्वको सबैभन्दा लामो स्पान स्टिल ट्रस गर्डर सस्पेन्सन ब्रिज बनेको छ । पृथ्वीको दरार भनेर चिनिने ह्वाच्याङ ग्रान्ड क्याननमा रहेको २ हजार ८ सय ९० मिटर लामो संरचना विश्वको दोस्रो ठूलो अर्थतन्त्रको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधार नेटवर्कको एक हिस्सा हो ।

बेइपान नदीमाथि फैलिएको पहिलेको विश्वको सबैभन्दा अग्लो पुल ह्वाच्याङ ग्रान्ड क्यानन पुलबाट १ सय किलोमिटरमा अवस्थित छ । २०१६ मा खुलेको अघिल्लो रेकर्ड होल्डरमा पुलको डेकबाट तल नदीको सतहसम्म ५६५.४ मिटरको ठाडो क्लियरेन्स छ ।

चीनको सबैभन्दा कम विकसित प्रान्तहरू मध्ये एक क्विचाउले आफ्नो पहाडी भूभागमा ३० हजार भन्दा बढी पुलनिर्माण गरेको छ । जसमा विश्वका तीनवटा अग्ला पुलहरू पनि समावेश छन् । यो प्रान्त विश्वका १०० अग्ला पुलहरू मध्ये लगभग आधाको घर हो ।

ह्वाच्याङ ग्रान्ड क्यान्योन ब्रिजले दुर्गम क्षेत्रहरूलाई सम्पर्क सञ्जालमा ल्याउनेछ ।

पुल भएको क्षेत्रमा चुनढुंगाका भीरहरू छन् । परापूर्व कालमा ट्रायासिक समुद्रबाट बनेको यो भीरमा मानिसले हिँड्न लगभग असम्भव थियो ।

पुलको भार परीक्षण अगस्टको अन्तिममा गरिएको थियो । त्योबेला कुल ३३ सय टन भएका ९६ वटा भारी ट्रकहरू त्यस पुलबाट पार भएका थिए ।

चार सयभन्दा सेन्सरले पुलको निगरानी गरेका थिए । उनीहरूले प्रमुद स्पान, टावर, केबल र सस्पेन्डरहरूमा ट्रकका गतिविधिको निरीक्षण गरेका थिए ।

पाँच दिनसम्म लगातार परीक्षण गर्दा पुलले सुरक्षाका सबै मापदण्ड पूरा गरेको थियो ।

यो पुल इन्जिनियरिङको उम्दा नमूना भएको क्विचाउ ट्रान्सपोर्टेशन इन्भेस्टमेन्ट ग्रुप कम्पनीका वु चाओमिङले बताएका छन् ।

पुलका कारण पहिला दुई घन्टा लाग्ने बाटो दुई मिनेटमै पार गर्न सकिने भएको छ । यसले क्विचाउको भित्री भागमा यातायात आधुनिकीकरणमा योगदान गर्नेछ ।

क्विचाउ समथर इलाका नभएको चीनको एक मात्र प्रान्त हो । त्यहाँ पुल र सुरुङहरू प्रशस्त छन् ।