बंगलादेशले लगायो कच्चा जुट निकासीमा रोक, निर्यातमुखी नेपाली उद्योग प्रभावित


विनोद भण्डारी
विराटनगर । उत्पादन घटेसँगै स्वदेशी उद्योगलाई अभाव हुने भन्दै बंगलादेश सरकारले दुई सातादेखि कच्चा जुट निकासीमा अघोषित रूपमा रोक लगाएको छ ।

बंगलादेशमा यस वर्ष एक लाख टनले कच्चा जुटको उत्पादन घटेको छ । त्यहाँ गत वर्ष १७ लाख टन कच्चा जुट उत्पादन हुँदा यस वर्ष १६ लाख टन मात्र उत्पादन छ । त्यहाँ सवा सयभन्दा बढी जुट उद्योग छन् । ती उद्योगलाई कच्चा जुटको अभाव हुने भन्दै सरकारले निकासीमा रोक लगाएको बताइएको छ ।

बंगलादेशको यो नीतिले दशकदेखि भारतको एन्टी डम्पिङ शुल्कको मार भोग्दै आएका निर्यातमुखी नेपाली जुट उद्योग प्रभावित भएका छन् । नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट ल्याएर वस्तु उत्पादन गरी भारत निकासी गर्दै आएका छन् ।

पछिल्लो समय बंगलादेशी कच्चा जुटको गुणस्तर राम्रो हुनुका साथै भारतको तुलनामा सस्तो पनि भएकाले नेपाली जुट उद्योगको आकर्षण बंगलादेशी जुटतर्फ बढेको हो ।

नेपालका जुट उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत वस्तु भारतमा निर्यात गरिरहेका छन् । नेपालबाट गत वर्ष ८ अर्बभन्दा बढीका जुटका सामग्री भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार चालु वर्षको साउन महिनामा भारतबाट ५ करोड ६५ लाख ६७ हजार मूल्यको ४ लाख ३२ हजार ४ सय किलो जुट आयात हुँदा बंगलादेशबाट त्यही अवधिमा २८ करोड ५७ लाख ६ हजार मूल्यको २४ लाख किलो कच्चा जुट आयात भएको छ ।

गत वर्ष बंगलादेशबाट २ करोड ६३ लाख ५७ हजार ७४० किलो र भारतबाट २ करोड ३७ लाख ८७ हजार ८ सय किलो कच्चा जुटको आयात भएको थियो ।

बंगलादेशमा यस वर्ष कच्चा जुटको मूल्य केही सस्तो भएका कारण नेपालका उद्योगीले बंगलादेशबाट कच्चा पदार्थ ल्याएर भारतमा तयारी वस्तुको निर्यात गरिरहेका थिए । अब बंगलादेशबाट कच्चा जुट आउन छाडेपछि भारतबाट आयात गरिएको कच्चा जुटले भारतकै उद्योगसित प्रतिस्पर्धा गर्न गाह्रो हुने नेपाल जुट उद्योग संघका महासचिव सोम अधिकारीको प्रतिक्रिया छ ।

बंगलादेशी कच्चा जुट निकासी खुलाउन कूटनीतिक पहल भइरहेको छ । सम्बद्ध उद्योगीले पनि पहल गरिरहेका छन् । अधिकारीले क्लिकमान्डुसँग भने, बंगलादेशस्थित नेपाली दूतावासले पनि यस विषयमा आवश्यक पहल गरिरहेको छ । उनका अनुसार बंगलादेशले कच्चा जुट निकासी खुला नगरे नेपालका जुट उद्योग मारमा पर्ने र आधाभन्दा बढी उत्पादन कटौती हुने स्थिति रहने बताइएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा हाल सञ्चालनमा रहेका विभिन्न ६ वटा जुट उद्योगलाई वार्षिक करिब ७० हजार टनभन्दा बढी कच्चा जुटको आवश्यकता छ । दशकपहिला यो करिडोरमा एक दर्जन जुट उद्योग सञ्चालनमा रहँदा २० हजारभन्दा बढीले रोजगारी पाएका थिए ।

सञ्चालित उद्योगलाई आवश्यक पर्ने कच्चा जुटमध्ये करिब २० हजार टन स्वदेशी उत्पादनले थेग्दा बाँकी कच्चा जुट बंगलादेश र भारतबाट आयात हुन्छ । नेपालका उद्योगले भारत र बंगलादेश जहाँ सस्तो पाइन्छ, उतैबाट कच्चा जुट ल्याउँदै आएका छन् । यसबेला कच्चा जुटको मूल्य भारतमा भन्दा बंगलादेशमा किलोमा १० देखि १५ रुपैयाँसम्म सस्तो पर्ने उद्योगीको भनाइ छ ।

भारत र बंगलादेश जुट खेतीका लागि ‘हब’ मानिन्छन् । बंगलादेश जुट एसोसिएसनका अनुसार यस वर्ष बंगलादेशमा १६ लाख ११ हजार ५४० टन कच्चा जुट उत्पादन भएको छ । अघिल्लो वर्ष बंगलादेशमा १७ लाख टनभन्दा बढी कच्चा जुट उत्पादन भएको थियो ।

त्यसैगरी भारतमा यस वर्ष १५ लाख १७ हजार ९४० टन जुट उत्पादन भएको देखिएको छ । जबकि गत वर्ष १७ लाख ६५ हजार ३६० टन उत्पादन भएको थियो । दुवै मुलुकमा यस वर्ष कच्चा जुट उत्पादन घटेसँगै मूल्य वृद्धि हुँदा बंगलादेशले स्वदेशी उद्योगलाई अभाव हुने भन्दै कच्चा जुट निकासीमा रोक लगाएको हो ।

यसअघि बंगलादेशमा स्थानीय व्यवसायीले निशर्त रूपमा खुला रूपमा जुटको निर्यात गर्दै आएका थिए । पछिल्लो समयमा बंगलादेशी सरकारले त्यसलाई नियन्त्रण गर्दै आन्तरिक बजारमा कच्चा जुटको आपूर्ति बढाउन र एक्कासि बढेको जुटको मूल्य नियन्त्रण गर्ने नाममा निर्यातलाई सशर्त बनाउँदै निकासीमा अघोषित रोक लगाएपछि नेपाली जुट उद्योग प्रभावित भएका हुन् ।

त्यहाँको वाणिज्य मन्त्रालय अन्तर्गतको निर्यात शाखाले बंगलादेश जुट एसोसिएसनलाई सेप्टेम्बर ८ मा परिपत्र गर्दै कच्चा जुटको निर्यातलाई सशर्त निर्यातको सूचीमा समावेश गरेको जानकारी गराएको थियो ।

सम्बद्ध उद्योगीका अनुसार बंगलादेश सरकारको वाणिज्य मन्त्रालयमा त्यहाँका निर्यातकर्ताले आवश्यक कागजात पेश गरे पनि मन्त्रालयले निर्यातको अनुमति दिएको छैन । उनीहरूको अनुसार दुई साताअघि सम्म भुक्तानी भएका वा एलसी खोलिएका ५० ट्रक कच्चा जुट बंगलादेश सरकारले दुई साताअघि छाडेको थियो । त्यसपछि बंगलादेशले निर्यातको अनुमति दिएको छैन ।