अमेरिकाको सहुलियतपूर्ण बजार कार्यक्रममा थप ३१ वस्तुलाई समावेश गर्न उद्योग मन्त्री सिन्हाको आग्रह

455
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र संयुक्त राज्य अमेरिकाका राजदूत मिस्टर डिन आर थम्पसनबीच भेंटवार्ता भएको छ ।

भेंटवार्ताको क्रममा मन्त्री सिन्हाले दुई मुलुकबीच लामो समयदेखि रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्ध तथा नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुयाएको सहयोगको चर्चा गर्दै नेपालमा भर्खरै भएको जेन जी प्रदर्शनबाट सिर्जित नवीन परिवेशमा आगामी निर्वाचन नै सरकारको प्रमुख जिम्मेवारी रहेको विषय जानकारी गराएका थिए ।

अमेरिकी सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा मन्त्री सिन्हाले गरेका थिए । । मन्त्री सिन्हाले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्यको रुपमा रहेको संयुक्त राज्य अमेरिकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम मार्फत ७७ वस्तुको लागि शून्य भन्सार सुविधा प्रदान गरेको भएतापनि ती वस्तुको निर्यात अपेक्षितरूपमा वृद्धि हुन नसकेको विषय औँल्याएका थिए ।

अमेरिकी सरकारको नयाँ भन्सार महसूल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवदेनशील रहेको विषयलाई जोड दिँदै उनले सन् २०२६ मा हुने अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति, नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता र थप ३१ वस्तुलाई उक्त कार्यक्रममा समावेश गर्न आग्रह गरेका थिए ।

पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै विद्यमान् अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास मन्त्री सिन्हाले व्यक्त गरेका थिए ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयबीच सन् २०२४ मा हस्ताक्षर भएको समझदारी पत्रको कार्यान्वयनबाट बौद्धिक सम्पत्तिका क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवर्द्धन हुने अपेक्षा उनले राखे ।

अमेरिकी राजदूत थम्पसनले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानीमा सहकार्य गर्ने संयन्त्रको रुपमा रहेको टिफा काउन्सिलका यस अघिका बैठकमा सहमति भएका विषय कार्यान्वयनमा जोड दिँदै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता सम्बन्धमा अमेरिकी संसदले निर्णय गर्ने भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्नेमा जोड दिए ।

अमेरिकी राजदूत थम्पसनले नेपालमा संयुक्त राज्य अमेरिकाको विकास वित्त निगमले नेपालको बैंकिङ्ग क्षेत्रमार्फत साना तथा मझौला उद्यमीलाई सहयोग पुयाई रहेकोमा उर्जा, सूचना प्रविधि लगायतका सम्भाव्य क्षेत्रमा लगानी विस्तारका लागि उक्त निगम एवम् अमेरिकी लगानीकर्ता ईच्छुक रहेको जानकारी दिएका थिए ।