हालको स्थितिलाई अपनत्व लिँदै देश पुनर्निर्माणको महाअभियानमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह

14
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहितका तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङले देशको पुननिर्माणलाई अपनत्व सम्झेर सहयोगमा जुट्न आग्रह गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले जेनजी प्रदर्शनको क्षतिपछि मुलुकलाई पुननिर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

‘हामीलाई इन्जिनियरिङसम्बन्धी विभिन्न संस्थाहरुले सहयोग गर्ने बताउनु भएको छ । तर, प्राविधिक मात्रै नभएर हामीलाई आर्थिक रुपमा सबै गैरआवासीय नेपाली नागरिक र नेपालमा रहेका नागरिकलाई सहयोग गर्न आव्हान गर्न चाहन्छौं,’ घिसिङले भने, ‘हालको स्थितिलाई सबैले अपनत्व लिएर देश पुननिर्माणको महाअभियानमा सहयोग गर्न आग्रह छ ।’

उनले, देश पुननिर्माणको जागरण अभियानमा सरकारले खडा गरेको कोषमा सहयोग गरेर गर्न अनुरोध गरेका हुन् ।

‘क्षतिको एकिन जानकारी आएको छैन । तर, हामीले करिब १ खर्बको क्षति पुगेको अनुमान गरेका छौं । धेरै संरचना भने एकदमै ध्वस्त बनेको छन्,’ घिसिङले भने, ‘अहिले समिति बनाएर काम भइरहेको छ भने सहरी विकास मन्त्रालयलाई परिचालन गरेर पनि तथ्यांक संकलनमा काम गरिरहेका छौं ।’