
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले कूल ४७ अर्ब ३१ करोड रुपैयाँबराबरको विभिन्न सामान निर्यात गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८२र८३ को पहिलो २ महिना (साउन र भदौ) को तथ्याँक मंगलबार सार्वजनिक गरेको हो ।
जसअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु निर्यात भएकामा चालु आर्थिक वर्षको यस अवधिमा निर्यात ८८.५७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।
यसमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा सोयाबीन तेलले ओगटेको छ । दुई महिनाको अवधीमा नेपालबाट २० अर्ब ४२ करोड रुपैयाँबराबरको ९ करोड ८४ लाख २४ लाख ६ सय ६८ किलो सोयाबीन तेल भारतमा निर्यात भएको छ ।
यस्तै दोश्रोमा सबैभन्दा बढी सनफ्लावर तेल १ अर्ब ३८ करोड ४७ लाख रुपैयाँबराबरको ३ करोड ५१ लाख ९५ हजार २ सय ४९ लिटर भारतमै निर्यात भएको थियो ।
पछिल्लो वर्षको निर्यातको सूचीमा करिब पुछारमा पुगेको रिफायण्ड पाम आयल भने यो बर्षको दुई महिनामा तेश्रो स्थानमा उक्लेको छ । १ अर्ब ३१ करोड ८१ लाख ९० हजार रुपैयाँबराबरको ७३ लाख ९९ हजार ५ सय ४४ लिटर पाम आयल भारतमै निर्यात भएको हो ।
यसपछि ब्लिच नभएको फेव्रीक्स, कार्पेट, अलैंची, विभिन्न प्रकारका जुसहरु विभिन्न मुलुकमा निर्यात भएका छन् । दुई महिनाको अवधीमा नेपालबाट ४५ करोड १३ लाख रुपैयाँबराबरको पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको छ ।







प्रतिक्रिया