
विराटनगर । सन्दर्भ मूल्यसूचीलाई विस्थापित गर्ने उद्देश्यले बुधवारदेखि विराटनगर भन्सार कार्यालयमा पाइलट प्रोजेक्टका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू हुँदैछ ।
यो सफ्टवेयरको उद्घाटनका लागि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल बुधवार विराटनगर आउँदैछन् । खनाल मन्त्री भएपछि उपत्यकाबाहिरको यो उनको पहिलो भ्रमण हुनेछ ।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठका अनुसार सन्दर्भ मूल्यसूचीलाई विस्तारै विस्थापित गर्ने उद्देश्यले बुधवारदेखि पाइलट प्रोजेक्टका रूपमा विराटनगर भन्सार कार्यालयबाट अनलाइन भ्यालुएसन सफ्टवेयर लागू हुँदैछ ।
यो सफ्टवेयर विराटनगरपछि मुलुकका सबै प्रमुख भन्सार कार्यालयमा लागू गर्ने भन्सार विभागको तयारी छ ।
यो सफ्टवेयर प्रयोगमा आएपछि भन्सार विभागले हरेक छ महिनामा अद्यावधिक गर्ने गरेको सन्दर्भ मूल्यसूची निष्क्रिय हुँदै जाने र सफ्टवेयरले वास्तविक मूल्याङ्कन पद्धति अपनाउने भन्सार विभागको बुझाइ छ ।
यो सफ्टवेयरबाट वस्तुको मूल्याङ्कनमा कम जोखिम हुनुका साथै छिटोछरितो र पारदर्शी हुने तथा यसको प्रयोगले वस्तु मूल्याङ्कन र भन्सार जाँचपासका क्रममा हुने अनियमितता नियन्त्रण हुने भन्सार विभागको विश्वास छ । वस्तुको मूल्याङ्कनमा यस सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) पनि समायोजन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।
यसको उद्घाटनका लागि बुधवार अर्थमन्त्री खनाल विराटनगर आउने र भन्सार कार्यालयमै राजस्व चुहावट सम्बन्धी अन्तरक्रिया पनि हुने श्रेष्ठले बताए । खनालले जेनजीको प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आन्तरिक राजस्व कार्यालय विराटनगरको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।
गत भदौ २४ को प्रदर्शनमा आगजनीका क्रममा क्षतिग्रस्त बनेको यो कार्यालयको केन्द्रीय सर्भरसँग सम्बन्ध विच्छेद हुँदा एक सातासम्म सेवा अवरुद्ध भएको थियो । केन्द्रीय सर्भरसँग सम्बन्ध जोडेर हाल यो कार्यालयले सानो टहरोमा बसेर सेवा सुचारु गरेको छ ।
त्यसैगरी मन्त्री खनालले विराटनगरस्थित आइसिपीको पनि निरीक्षण गर्ने कार्यक्रम छ । २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षले नयाँ दिल्लीमा संयुक्त रूपमा उद्घाटन गरेपनि सञ्चालनमा आउन नसकेको नेपाल–भारत कार्गो रेलवेको यार्डको पनि निरीक्षण गर्ने कार्यक्रम छ । कार्गो रेल्वे यार्ड महँगो भएको भन्दै यहाँका व्यवसायीले आयातित वस्तु सीमापारि जोगबनीको यार्डमा अनलोड गरेर आयात गरिरहेका छन् ।
अर्थमन्त्री खनालले बुधवार नै विराटनगरका उद्योगी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया