शिक्षामन्त्री महावीरलाई मन्त्रालयमै गरियो खानेबस्ने व्यवस्था

0
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने–बस्ने व्यवस्था गरिएको छ । मन्त्रालय प्रवक्ता शिवकुमार सापकोटाका अनुसार कार्यकक्षसँगैका कोठा खाली गरी सुत्ने र भान्साको प्रबन्ध मिलाइएको हो।

भदौ २३/२४ गतेको जेनजी प्रदर्शनपछि सिंहदरबारस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा ठमेलको केसर महलमा शिक्षा मन्त्रालय सञ्चालन हुँदै आएको छ । यही भवनको पहिलो तलामा मन्त्री पुनको कार्यकक्ष तयार गरिएको छ ।

सोमबार शिक्षा मन्त्रीको सपथपछि पुनले आफू मन्त्रालयमै बस्ने भन्दै सचिव चुडामणि पौडेललाई गाँस–बासको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

मन्त्री पुनको निर्देशनपछि मन्त्रालयका उच्च अधिकारीहरू मंगलबार बिहानैदेखि केशरमहलस्थित मन्त्रालयका विभिन्न कोठाहरूमा उनको बसोबासको व्यवस्थाका लागि खटिएका थिए ।

केशर पुस्तकालयको लेखा शाखा रहेको कोठालाई खाली गराएर मन्त्रीको बसोबासको व्यवस्थापन मिलाइएको हो ।

मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए ।

कार्यकक्ष भने केशर शमशेरले प्रयोग गर्ने गरेको चन्दनको ढोका भएको कोठामा व्यवस्थापन गरिएको छ । मन्त्री पुनले आफैं खाना बनाउने भने पनि उनको व्यस्ततालाई ध्यान दिँदै भान्छेको व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ ।